नाटककार समको ११३ औँ जन्मजयन्ती मनाइयो

साहित्य

काठमाडौँ, २४ माघ । नाटककार बालकृष्ण समको ११३ औँ जन्म जयन्ती आज मनाइएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाली शिक्षा परिषद्द्वारा संयुक्तरूपमा प्रतिष्ठानमा आयोजित कार्यक्रममा स्वर्गीय समप्रति श्रद्धाञ्जलि अर्पण गरियो । यसअघि कमलपोखरीमा रहेको उहाँको सालिकमा पनि माल्यार्पण गरिएको थियो ।

उक्त कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेले नेपाली साहित्यको विविध विधाको विकासमा समले नयाँ आयाम थपेको बताउँदै उहाँको साहित्य लेखनले मुलुकमा सामाजिक न्याय तथा समानता कायम गर्न सहयोग मिलेको बताउनुभयो ।

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले स्वर्गीय समले सिर्जना गरेका कविताले नेपाली साहित्यमा मात्र नभएर सामाजिक रूपान्तरणका लागि प्रेरित गर्ने गरेको र चित्रकला तथा नाटकमा उहाँको ठूलो योगदान रहेको स्मरण गर्नुभयो ।

नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले समले ललितकला, साहित्य र नाटकको क्षेत्रमा गरेका योगदानले उहाँलाई तीनवटै प्रतिष्ठानको साझा धरोहरकारूपमा स्वीकार्नुपर्नेमा जोड दिँदै आगामी दिनमा आफ्नो प्रतिष्ठानले पनि समको सम्मानमा विभिन्न कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाली शिक्षा परिषद्का सदस्य–सचिव रमा शर्मा तथा प्रा.अभि सुवेदीलगायतले समका कृतिमा राष्ट्रभक्ति तथा सामाजिक सद्भावसहितको जनताको अधिकारकालागि आग्रह पाइने उल्लेख गर्दै नयाँ पुस्ताले समको आदर्शलाई अनुकरण गर्नुपर्नेमा जोड दिनुभयो । रासस

Post Comment