काठमाडौँ, २४ माघ । जनजागृतिका कवि धरणीधर कोइरालाको १२२ औँ जन्म जयन्तीका अवसरमा आज धरणीधर पुरस्कार एवम् सम्मान प्रदान गरिएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठान र धरणीधर पुरस्कार प्रतिष्ठान विराटनगरले आज यहाँ आयोजना गरेको कार्यक्रममा कथाकार पद्मावती सिंहलाई धरणीधर सम्मान र कवि एवम् नियात्राकार जय छाङ्छालाई धरणीधर पुरस्कार प्रदान गरियो ।
कथाकार सिंह सामाजिक सेवा र नारी साहित्य लेखनमा सक्रिय रही ‘पदमावती सिंहका कथाहरू’ लगायतका कथा प्रकाशित छन् भने परराष्ट्र सेवाबाट अवकास प्राप्त छाङ्छाका ‘पोटोम्याकको किनारमा’ कवितासंग्रह तथा ‘कंगारुको देशदेखि आइफेलटावरसम्म’ लगायतका विभिन्न नियात्राकृति प्रकाशित छन् ।
धरणीधर पुरस्कारको राशि रु ११ हजार १११ र धरणीधर सम्मान रु एक हजार १०० को रहेको छ । पुरस्कार एवम् सम्मान वितरण गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्र्रेतीले साहित्यकारलाई सम्मान गरिनु लेखनका लागि सामाजिक चिनारी भएको बताउनुभयो ।
नयाँ पुस्तामा स्वर्गीय साहित्यकार कोइरालाको योगदान पु¥याउन सम्मानले सहयोग गर्ने पनि उहाँले बताउनुभयो । कोइरालाका विषयमा कार्यपत्र प्रस्तुत गर्दै प्रा डा गोविन्दराज भट्टराईले प्रजातन्त्रको स्थापनाका लागि जागृति ल्याउन कवि कोइरालाको योगदान रहेको बताउनुभयो ।
सो अवसरमा धरणीधर प्रतिष्ठानका अध्यक्ष कृष्णराज कोइरालाको आत्मवृत्तान्त, जीवनाथ पोख्रेलको ‘भोगाइका कुइनेटा’ र पुरस्कृत छाङ्छाको ‘कतार सारथी’ तीनवटा पुस्तकको लोकार्पणसमेत गरिएको थियो ।
लोकार्पित पुस्तकहरूका विषयमा डा गोविन्दमानसिंह कार्की र पुरस्कृत व्यक्तित्ववारे डा विष्णु राईलगायतले समीक्षात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो । रासस