कञ्चनपुर, ३ वैशाख । नेपाल र भारतका वन अधिकारीले वन्यजन्तुको अवैध चोरी–सिकारी नियन्त्रण गर्नका लागि सघनरुपमा कार्यक्रम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बिहीबार नेपाल र भारतका वन अधिकारीको कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा बसेको संयुक्त बैठकले वन्यजन्तुको चोरी–सिकारी नियन्त्रण गर्नका लागि सीमाक्षेत्रमा संयुक्त गस्तीको कार्यसँगै सूचना आदान–प्रदानको कार्यलाई निरन्तरता दिने निर्णय गरेका छन् ।
बाघ संरक्षणको कार्य चुनौतीको विषय भएकाले यसको रोकथामका लागि समन्वयात्मक ढङ्गले कार्य गर्ने बैठकमा सहमति भएको शुक्लाफाँटा वन्यजन्तु आरक्षका मुख्य संरक्षण अधिकृत बेदकुमार ढकालले बताउनुभयो ।
उहाँले भारतीय पक्षबाट महाकाली नदीको ब्रह्मदेव क्षेत्रबाट भइरहेको बालुवा उत्खनन गर्ने कार्य रोक्नका लागि पहल गर्नुपर्ने भारतीय समकक्षीसमक्ष राखेको बताउनुभयो । भारतीय पक्षले बालुवा उत्खननको कार्य रोक्नका लागि बैठकमा प्रतिबद्धता व्यक्त गरेको उहाँले बताउनुभयो । संयुक्त बैठकमा हालसम्म भएका कामको समीक्षा र आगामी योजना निर्माण गर्ने विषयमा छलफलसमेत भएको छ ।
बैठकमा नेपालका तर्फबाट शुक्लाफाँटा वन्यजन्तु आरक्ष कार्यालयका मुख्य संरक्षण अधिकृत बेदकुमार ढकाल, जिल्ला वन कार्यालय कञ्चनपुरका कर्मचारी, भारतको उत्तराखण्ड वन विभागका कर्मचारी, डब्लुडब्लुएफ इन्डियाका कर्मचारीको सहभागिता रहेको थियो ।