काठमाडाँै, २८ वैशाख । निजी विद्यालयले मनोमानी रुपमा शुल्क लिएको पाइएको छ । आज शिक्षा मन्त्रालय, विद्यार्थी सङ्गठन र अभिभावकले गरेको अनुगमनमा विद्यालयले मनोमानी रुपमा शुल्क लिएको पाइएको हो ।
काठमाडौँ र ललितपुरका चारवटा विद्यालयको अनुगमन गर्दा शुल्क मनोमानी ढङ्गबाट लिएको पाइएको हो । मन्त्रालयमा प्रवक्ता डा हरि लम्सालको अगुवाइमा ज्ञानेश्वरस्थित ग्यालेक्स पब्लिक र अनामनगरस्थित अक्सिडेन्टल स्कुल तथा शिक्षा विभागका निर्देशक बैकुण्ठ अर्यालको अगुवाइमा ललितपुरस्थित डिएभी र शुभतारा स्कुलमा अनुगमन गरिएको थियो ।
अनुगमनमा संलग्न अनेरास्ववियु सचिव आरसी लामिछानेले विद्यालयले सरकारको सीमाभन्दा बाहिर गएर शुल्क लिएको पाइएको जानकारी गराउनुभयो । उहाँका अनुसार डिएभी स्कुलले नर्सरीको २४ हजार ५००, कक्षा १ को ३८ हजार ५०० र कक्षा ५ को ३९ हजार ३५० तथा शुभतारा स्कुलले कक्षा १ देखि ५ सम्म ४८ हजार ५९२ रुपैयाँ लिइएको पाइएको छ ।
यस्तै ग्यालेक्सी स्कुलले विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध नगराएको पाइएको छ । विद्यालयले न्यूनतम १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने हुन्छ भने अक्सिडेन्टलले १० प्रतिशत शुल्क बढाइएको पाएको छ । अनुगमनका क्रममा विद्यालयले छात्रवृत्ति पनि पारदशी ढङ्गले वितरण नगरिएको र पाठ्यक्रमको सरकारले तोेकेकोभन्दा बढी शुल्क लिएको पाइएको छ ।
अभिभावक सङ्घका अध्यक्ष सुप्रभात भण्डारीले विद्यालयले अभिभावकको भेला नगरी आफूखुसी शुल्क लिने गरेको बताउनुभयो । ‘‘धेरै विद्यालयले अभिभावकको भेला नगराई शुल्क लिने गरेका छन्’’, उहाँले भन्नुभयो–‘‘गतवर्ष भन्दा २० प्रतिशतसम्म शुल्क बढाएको पाइएको छ ।’’
मन्त्रालयले सोमबारदेखि काठमाडौँ उपत्यकाका निजी विद्यालयको शुल्क, छात्रवृत्ति र पाठ्यक्रमको अनुगमन सुरु गरेको हो । मन्त्रालयका प्रवक्ता डा लम्सालले अहिले विद्यालयले लिने शुल्क, छात्रवृत्ति र पाठ्यक्रमको विवरण सङ्कलन गरिएको जानकारी गराउनुभयो । ‘‘अहिले हामीले विद्यालयको अनुगमन गरेर विवरण सङ्कलन गरिरहेका छौँ’’, उहाँले भन्नुभयो–‘‘अझै दुई÷तीन विद्यालयको अनुगमन गर्छौं । अनि अनुगमनका क्रममा पाइएका कुराको रिपोर्ट सार्वजनिक गर्छौं ।’