काठमाडौँ, १८ जेठ । निजामती कर्मचारीको बुधवार हुने आधिकारिक टे«ड युनियनको निर्वाचनको तयारी पूरा भएको छ ।
प्रमुख निर्वाचन अधिकृत गीताप्रसाद तिमिल्सिनाले निर्वाचनको तयारी पूरा भएको र बुधबार बिहानदेखि मतदान सुरु हुने जानकारी दिनुभयो ।
निर्वाचनका लागि ७५ जिल्ला र ४२ विभाग गरी ११७ स्थानमा १२९ मतदान केन्द्र रहनेछ । निर्वाचनमा एक हजार ६०३ कर्मचारी र एक हजार २१५ सुरक्षाकर्मी खटिनेछन् । कार्यालयको प्रमुख नरहेका शाखा अधिकृत र सो भन्दा तल्लो तहका ५५ हजार ३२९ निजामती कर्मचारीले निर्वाचनमा भाग लिँदैछन् ।
नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन (मञ्च), नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र, नेपाल मधेसी निजामती कर्मचारी मञ्च र राष्ट्रिय कर्मचारी सङ्गठनले निर्वाचनमा उम्मेदवारी दिएका छन् ।
नेपाल निजामती कर्मचारी युनियन (मञ्च)का अध्यक्ष सुबोध घिमिरेले राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्रका अधिकांश पदाधिकारीसमेत आफ्नो पक्षमा आएकाले निर्वाचनपछि सबैभन्दा ठूलो सङ्गठन आफ्नो हुने जिकिर गर्नुभयो ।
नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष पुण्य ढकालले विश्वमै पहिलोपटक हुन लागेको निजामती कर्मचारीको आधिकारिक टे«ड युनियनको निर्वाचनबाट आफ्नो सङ्गठन एक नम्बर हुनेमा आश्वस्त रहेको धारणा राख्नुभयो ।
नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीका अध्यक्ष हरि रावलले राष्ट्रिय कर्मचारी सङ्गठनले समेत आफ्नो सङ्गठनलाई समर्थन गरेकाले आफूहरुको पक्षमा लहर आएको टिप्पणी गर्नुभयो ।
यसैबीच, सरकारले निजामती कर्मचारीलाई बुधबार सार्वजनिक बिदा दिएको छ ।