भक्तपुर, १९ जेठ । अस्पतालको लापरवाहीले बिरामीको जबर्जस्ती शल्यक्रिया गरी खुट्टाको मुख्य नसा काटेपछि भक्तपुरको गट्ठाघरस्थित नागरिक अस्पतालले बिरामीलाई रु दुई लाख क्षतिपूर्ति तिरेको छ ।
सप्तरी घर भई हाल कौशलटारमा बस्दै आएका उपेन्द्र मण्डलको पाँच वर्षीया छोरी निसुको खुट्टामा समस्या आएपछि गत कात्तिक ३ गते नागरिक अस्पताल भर्ना गरिएको थियो ।
उपेन्द्रकी श्रीमती रीताकुमारीले बच्चाको खुट्टाको शल्यक्रिया गरे मात्रै ठीक हुन्छ अन्यथा खुट्टा काट्नुपर्ने वा खुट्टा छोटो हुन्छ भनेर अस्पतालले डर देखाएपछि खुट्टाको शल्यक्रिया गरिएको बताउनुभयो ।
“खुट्टाको शल्यक्रिया गरेको तीन महिनासम्म पनि ब्यान्डेज खोलेन, ठीक हुन्छ भन्दै ढाँटेर राख्यो”, उहाँले भन्नुभयो, “अन्य अस्पतालमा लगेर सिटीस्क्यान र एमआरआई गरेपछि बल्ल थाहा भयो, मेरो छोरीको त खट्टाको मुख्य रक्तनली नै काटिएको रहेछ ।”
अस्पताल प्रशासनले डा सुरज बज्राचार्यले बालिकाको शल्यक्रिया गरेको जानकारी दिएको छ । डा बज्राचार्यको भने शल्यक्रियामा आफ्नो गल्ती नभएको दाबी रहेको छ ।
सोही अस्पतालमा उपचार गराउँदा लाखौँ रुपैयाँ सकिएको बताउँदै उहाँले उपचारकै क्रममा आठ महिनापछि मात्रै छोरी हिँड्न नसक्ने अवस्थामा पुगेको थाहा पाएको उहाँले बताउनुभयो ।
अस्पतालमा यसबारे जानकारी गराउँदा ‘यो कुरा बाहिर लगे जे पनि गर्न सक्छौँ’ भनेर अस्पतालका निर्देशक सुरेश श्रेष्ठले फोनबाट पटक–पटक धम्क्याएपछि कौशलटार र गट्ठाघरका बासिन्दाले दुई दिनअगाडि अस्पताल घेराउ गरेका थिए ।
महानगरीय प्रहरी वृत्त थिमिमा उजुरी दिएर अस्पतालमा पटक–पटक घेराउ गरेपछि अस्पताल प्रशासनले सोमबार अन्य अस्पतालमा थप उपचार गर्न भन्दै दुई लाख रुपैयाँ क्षतिपूर्ति दिएको बालिकाको बाबु उपेन्द्रले जानकारी दिनुभयो ।
महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रहरी उपरीक्षक किरण बज्राचार्यले पीडित पक्षलाई अस्पतालले दुई लाख रुपैयाँ क्षतिपूर्ति दिएर मिलापत्र गरेको बताउनुभयो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा पुष्पमान अमात्यले प्रहरी वृत्त थिमिको रोहवरमा पीडित पक्षलाई क्षतिपूर्ति दिएर समस्या सुल्झाएको बताउनुभयो ।