काठमाडौँ, १८ जेठ । शिक्षा मन्त्रालय पाठ्यक्रम विकास केन्द्रले आयोजना गरेको विद्यालयस्तरीय राष्ट्रिय प्रतिभा पहिचान र छनोट कार्यक्रम २०७३ का उत्कृष्टलाई नगद रु ४० हजारसहित पुरस्कृत गरिएको छ ।
देशभरका विभिन्न विद्यालयका २३ विद्यार्थीले विज्ञान, गणित, भाषा साहित्य, विविध र विशेष सिर्जनात्मक कला गरी पाँच विधामा आफ्नो प्रतिभा देखाएका थिए ।
विज्ञान विधातर्फ ज्ञानेन्द्र सैनिक आवासीय मावि सुर्खेतका अर्जुन देवला, भाषा साहित्यतर्फ जनप्रिय उमावि बाग्लुङ्का रितु क्षेत्री र विविधतर्फ गोरखा युनाइटेड पब्लिक उमावि कोहलपुर बाँकेका आयुषी सिंह उत्कृष्ट भएका थिए ।
यसैगरी, गणिततर्फ जयबागेश्वरी उमावि नेपालगन्ज बाँकेका समृद्धि श्रीवास्तव र विशेष सिर्जनात्मक कला विधातर्फ सत्यवादी उमावि बझाङ्का अस्मिता बुढा उत्कृष्ट भई नगद रु ४० हजार जित्न सफल भएका थिए ।
कार्यक्रममा सहभागिता जनाउने अन्यलाई भने सान्त्वना पुरस्कारसहित रु तीन हजार प्रदान गरिएको थियो ।
पूर्वमन्त्री गङ्गालाल तुलाधरले आफ्नो कार्यकालदेखि सुरु गरेको यस्तो कार्यक्रमको मुख्य उद्देश्य काठमाडौँ उपत्यकामा मात्र नभई बाहिरी जिल्लामा रहेका प्रतिभावान् विद्यार्थीको खोजी गर्नु हो भन्नुभयो ।
कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक बाबुराम पौडेलले विद्यालयस्तरदेखि नै प्रतिभावान् विद्यार्थीको पहिचान हुनुपर्ने र सोहीअनुरुप प्रतिभालाई निखार्ने अवसर दिनुपर्ने बताउनुभयो ।