काठमाडौँ, १८ जेठ । मुलुकको वन क्षेत्रफल वृद्धि गर्न योगदान पु¥याएकामा सामुदायिक वन उपभोक्ता महासङ्घ (फेकोफन) प्रशंसित भएको छ ।
फेकोफनको २१ आँै स्थापना दिवस र सातौं राष्ट्रिय परिषद्को उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले नेपालको वन क्षेत्रफल ३९.६ प्रतिशतबाट बढेर हाल ४४.१४ प्रतिशत पुगेको र त्यसमा फेकोफनको उल्लेख्य योगदान रहेको भन्दै प्रशंसा गरेका हुन् ।
कार्यक्रममा वन तथा भू–संरक्षणमन्त्री अग्निप्रसाद सापकोटाले सामुदायिक वनमार्फत नेपालको पहिचान अन्तर्राष्ट्रिय जगत्मा उजागर गर्न सफल भएको बताउनुभयो ।
उहाँले वनका हरेक कार्यक्रम जनताको आधारभूत हितलाई केन्द्रमा राखेर अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।
सरकारले सामुदायिक वनबाट उत्पादिन काठले भूकम्प तथा अन्य विपद्बाट विस्थापित जनतालाई सहुलियत दरमा काठ उपलब्ध गराउन र विदेशी काठको आयात प्रतिस्थापन गर्न मद्दत पुग्ने मन्त्री सापकोटाको विश्वास थियो ।
कार्यक्रममा नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले सामुदायिक वनको अवधारणा आएपछि मात्र मुलुकको वन संरक्षणमा कायापलट भएको भन्दै वन क्षेत्रको संरक्षणमा अवरोधका रुपमा देखिएका कानुनको परिमार्जनका लागि आफू र आफ्नो पार्टीको सदैव सहयोगी रहने विश्वास दिलाउनुभयो ।
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले ‘हरियो वन नेपालको धन’ भन्ने नारा अनुरुप वनलाई धनमा मात्र सीमित गरिएको भन्दै नेपाल जस्तो मुलुकमा वनको महत्व जनताको जीवनसँग प्रत्यक्ष रुपमा गाँसिएको स्मरण दिलाउनुभयो ।
कार्यक्रममा फेकोफनका पूर्व अध्यक्ष घनश्याम पाण्डे र राइट एन्ड रिसोर्स इनिसेएटिभका प्रतिनिधि कुन्दन कुमारले विश्वमा वन क्षेत्र घटिरहेको परिप्रेक्ष्यमा नेपालको वन क्षेत्र वृद्धि हुनु सुखद भएको बताउनुभयो ।
कार्यक्रममा फेकोफनका अध्यक्ष गणेश कार्की, उपाध्यक्ष भीमप्रकाश खड्का र फेकोफनका निवर्तमान अध्यक्ष अप्सरा चापागाइँ युएसएडका नेत्रनारायण सापकोटाले वन संरक्षणमा फेकोफनले गरेको योगदानको प्रशंसा गर्दै भावी दिनमा अपनाउनुपर्ने नीतिमा बारेमा आ–आफ्ना धारणा राख्नुभयो ।
कार्यक्रममा वन संरक्षणको क्षेत्रमा योगदान पु¥याएको भन्दै नीलप्रसाद भण्डारी, छट्ठुप्रसाद यादव, हरि श्रीपाइली, प्रा डा तेजबहादुर महत, पूर्वमन्त्री वीरमणि ढकाल, सुदामदेवी सदा र सामुदायिक वन उपभोक्ता महासङ्घ बर्दियालाई सम्मान गरिएको थियो ।