अर्घाखाँची, १८ जेठ । सुक्खा याममा फैलिएको डढेलाले सयौँ घरसहित करोडौँको धनमाल नष्ट गरेको छ ।
सुख्खा याममा फैलिएको डढेलाले सन्धिखर्क नगरपालिकासहित २४ गाविसका बासिन्दा प्रत्यक्ष प्रभावित भएका छन् । जिल्लाभर एक सय ७४ घर र ९० गोठ आगाले जलेर पूर्ण रुपमा नष्ट भएको सहायक प्रजिअ चिरञ्जीवी घिमिरेले बताउनुभयो । घरमा रहेका अन्नपात, लुगाफाटा सबै जलेका छन् ।
घर र गोठ र त्यसमा रहेका नगद तथा जिन्सी समेत जलेर नष्ट हुँदा करिब रु सात करोड बराबरको क्षति भएको र घर जलेका परिवारलाई राहत वितरणको काम पनि भइरहेको सप्रजिअ घिमिरेको भनाइ छ ।
सामुदायिक तथा राष्ट्रिय गरी १२ हजार आठ सय ३१ हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ । जिल्लाका एक सय ४४ सामुदायिक वनमा डढेलो लागेको छ । सात हजार दुई सय ११ हेक्टर सामुदायिक वन र पाँच हजार ६२० हेक्टर वन क्षेत्रमा डढेलो लागेको जिल्ला वन कार्यालयका सहायक जिल्ला वन अधिकृत मदन प्रसाद ढुङ्गानाले बताउनुभयो ।
डढेलाले जिल्लाका धातिवाङ, सिद्धारा, सिमलपानी, जलुके, अडगुरी, पाली र ठाडा गाविसमा बढी क्षति पुगेको छ । आगलागीले वन्यजन्तु र चराचुरुङ्गी कति डढे भन्ने तथ्याङ्क कसैसँग छैन । धातिवाङ गाविस वडा नं ९ दहमा घर नजिकै लागेको आगो निभाउने क्रममा चिप्लिएर स्थानीयवासी ३२ वर्षीया मखमली विकको मृत्यु समेत भएको थियो ।