अवरुद्ध बेनी–जोमसोम सडक खुल्यो

समाज

मुस्ताङ, १८ जेठ । पहिरोका कारण अवरुद्ध बनेको बेनी–जोमसोम सडक सञ्चालनमा आएको छ ।

नियमित वर्षाका कारण मुस्ताङ र म्याग्दीको सिमानामा पर्ने घासामा पहिरोका कारण सडक भत्केपछि शनिबारदेखि अवरुद्ध सडक सोमबारदेखि सीधा सञ्चालनमा आएको हो ।

पहिरोले भत्काएको करिब १० मिटर सडक विभाग बागलुङको सहकार्यमा मर्मत पछि नियमित सवारीसाधन सञ्चालनमा आएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकरीले जानकारी दिनुभयो ।

लामो समय सडक अवरुद्ध हुँदा मुस्ताङ भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटक र यात्रुलाई समस्या उत्पन्न भएको थियो ।

यात्रुहरु बाटोमै दुई दिन कटाउन बाध्य भएका थिए । यतिबेला देशका विभिन्न भागबाट मुक्तिनाथ दर्शनका लागि आउने धार्मिक पर्यटकको सङ्ख्या उच्च छ । सडक मर्मतपछि दुईतर्फी यातायात सुचारु भएको दाना प्रहरी चौकीका प्रमुख सोमन छन्त्यालले जानकारी दिनुभयो ।

७२ किलोमिटर उक्त सडक अहिले विभिन्न स्थानमा भत्कने र पहिरोका कारण जीर्ण बन्दै गएको छ । “दैनिक ५० भन्दा बढी जीप तथा बस आवतजावत हुन्छ, सडक जीर्ण बन्दै जाँदा मुस्ताङ प्रवेश गर्ने यात्रुलाई बढी समस्या हुन्छ” प्रमुख छन्त्यालले भन्नुभयो ।