महिला सङ्घ सङ्गठनद्वारा संयुक्त विज्ञप्ति

समाज

कलैया, १८ जेठ । बारा, पर्साका राजनीतिक दलका नौवटा सङ्घ सङ्गठनका महिलाद्वारा सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै स्व राधादेवी कानुको रहस्यमय तरिकाबाट मृत्यु भएको घटनामा लिएका सम्पूर्ण जिन्सी र नगद फिर्ता गर्न जोडदार माग गरिएको छ ।

बारा महागढीमाई नगरपालिका–१ बदीयारपुर बस्ने महालाल साहकी २४ वर्षीया छोरी राधादेवीको वीरगन्ज उपमहानगरपालिका–१५ मुरली बस्ने रामानन्दको छोरा सुभाष साहसँग रु १५ लाख नगद रु १० लाख बराबरको जिन्सी सामान दाइजो लिनेदिने शर्तमा यही २०७२ फागुन १० मा विवाह भएकोमा तत्काल रु १३ लाख दिएको र रु दुई लाख पछि दिने बाँकी रहेका विषयमा सासू ससुरा र श्रीमान्समेतले पटकपटक राधादेवीलाई मानसिक तथा शारीरिक यातना दिँदै आएकोमा यही २०७३ जेठ ७ गते श्रीमान्को घरमा राधादेवीको शव रहस्यमय तरिकाले पङ्खामा झुन्डिएको अवस्थामा मृत फेला परेको विज्ञप्तिमा उल्लेख छ ।

संयुक्त विज्ञप्तिमा अखिल नेपाल महिला सङ्घका केन्द्रीय उपाध्यक्ष, नेपाली काँग्रेस बाराका नेत्री, अन्तरपाटी महिला सञ्जालका अध्यक्ष, अन्तरपार्टी महिला संयोजक, अधिकार मञ्च पर्सा, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय महिला सदस्य र अन्तरपार्टी महिला सञ्जालका सचिवको हस्ताक्षर रहेको छ ।