लौ हेर्नुस् ! मुसहरका बच्चाले चमत्कार गरे, पूर्वराष्ट्रपतिले सम्मान गरे

समाज

शिक्षित मानिस देशका पंक्षी हुन्, जहाँ पनि बाँच्न सक्छन् : पूर्वराष्ट्रपति यादव
जनकपुरधाम– पुस्तौंदेखि मुसहर समुदाय गरिबिको रेखामुनि रहेको छ । देशमा मात्र होइन विश्वमै चरम गरिबी र अशिक्षाको बीचमा मुसहरहरु आफ्नो जीवन बिताउँदै आएका छन् । यति ठूलो पीडा भोगिरहँदा पनि मुसहरका बच्चाहरु अब शिक्षाको उज्यालोतिर अघि बढिरहेका छन् । जनकपुरको गंगासागर पोखरीको पश्चिम किनारमा सयौंको संख्यामा उपस्थित भएका मुसहरहरुमा शनिबार एकाएक खुसीयालीको उमंगले छोप्यो । अरुका लागि रगत र पसिना बगाएर गगनचुम्बी महल बनाउने मुसहरहरु खुल्ला आकाश मुनि जीवन बिताउन बाध्य छन् ।
यस्तो समस्याका बाबजुद पनि मुसहर समुदायबाट २०७२ सालको एसएलसी परीक्षामा पूर्व झापादेखि पश्चिम नवलपरासीसम्म झन्डै ८० जना विद्यार्थीहरुले एसएलसी उत्तिर्ण गरेका छन् । एसएलसी उत्तिर्ण गर्ने विद्यार्थीहरुको सम्मान कार्याक्रममा पूर्वराष्ट्रपति डा. रामवरण यादव प्रमुख अथिति भएर आए ।
भोर नाम संस्था र नेपाल मुसहर संघको संयुक्त आयोजनामा एसएलसी परीक्षामा पास भएका विद्यार्थीहरुलाई सम्मान तथा दिनाभद्री छात्रवृत्ति कोषको उद्घाटन कार्याक्रमको आयोजन जनकपुरको गंगा सागर पोखरीको किनारमा भयो । मुसहरहरुको कार्यक्रममा स्वंय पूर्वराष्ट्रपति आएर विद्यार्थीहरुलाई सम्मान बधाई दिँदा उपस्थित मुसहर समुदायका मानिसहरु मुसकुराउँदै ताली पिटे । मुसहर संघका अध्यक्ष चन्देश्वर सादाले मुसहर समुदायको अधिकारका कुरा गरे ।
पूर्वराष्ट्रपतिले विद्यार्थीहरुलाई अविर, माला, दोसल्ला र सम्मानपत्र प्रदान गर्दैगर्दा पत्रकारहरु तछाडमछाड गरिरहेका थिए । मिथिलाको पवित्र भूमि जनकपुरको गंगासागरको किनारमा आयोजित कार्याक्रममा उपस्थित मुसहरहरुमा खुसीयालीको रौनकताले ढाक्यो ।
शिक्षाको पहुँचबाट मुसहरका बालबच्चाहरु पछाडी रहेको पूर्वराष्टपति डा. रामवरण यादवले बताए । उनले भने, ‘शिक्षा देशको पंक्षी हो, विद्या भए विश्वको जुनसुकै देशमा गएर पनि मनग्य आम्दानी गर्न सकिन्छ ।’ देशमा राजनीतिक परिवर्तन भए पनि साँस्कृतिक र सामाजिक परिवर्तन हुन अझै बाँकी रहेको पूर्वराष्ट्रपति डा. यादवले बताए ।
‘टाकुरामा एक्लो मान्छे नामक पुस्तकमा मेरो जीवनी छ । मुसहर समुदायका विद्यार्थीहरुले पढे अघि बढ्न झन उर्जा मिल्छ,’ पूर्व राष्ट्रपति यादवले भने, ‘म भैंसी चराएर पढेको छु । १६ बर्षमा मैले छोडेको पढाई फेरी सुरु गरेको थिए ।’ शिक्षित र अशिक्षित व्यक्तिमा जीवन र मृत्यु जस्तै फरक रहेको बताउँदै शिक्षा मानिसको जीवन रहेको उनको भनाई थियो ।
शिक्षाविद् डा. भोगेन्द्र झाले मुसहरहरु विश्वको इमान्दार तथा कडा श्रम गर्ने समुदाय रहेको बताए । उनले भने, ‘मुसहरहरुको जीवनपद्धति शिक्षाले मात्र परिवर्तन गर्छ ।’ दुई नम्बर प्रदेशको आठ जिल्ला शिक्षा, स्वास्थ्य र रोजगारीको सवालमा पछि परेको उनले बताए ।
वरिष्ठ पत्रकार रामभरोस कापडीले मुसहर विद्यार्थी एसएलसी परीक्षामा पास हुनु र उनीहरुलाई सम्मान गर्नु मुसहर समुदायको लागि सनेश (कौशेली) भएको संज्ञा दिएका छन् ।
मुसहरहरुको बसोबास तराईका २४ जिल्लामा छ । नेपालको जनगणना २०६८ अनुसार नेपालको कुल जंनसंख्यको २ प्रतिशत अर्थात साँढे १२ लाख जनसंख्या रहेको छ ।
मुसहरहरुको कूल जनसंख्याको ३ प्रतिशत मुसहरहरु मात्र साक्षर रहेको भोर संस्थाका अध्यक्ष राजकुमार महतोले बताए । मुसहर जस्ता गरिब तथा विपन्न समुदायहरुको उन्नती नभएसम्म देशको विकास नहुने अध्यक्ष महतोको भनाई छ ।
भोर संस्थाले मुसहर विद्यार्थीहरुको उच्च शिक्षाको लागि ५१ हजार रकम राखेर कोषको स्थापना गरेको छ ।

साभार : रातोपाटी