काठमाण्डौ, २ साउन । अमेरिकामा मुख्यालय रहेको संस्था असहाय तथा जरुरत मानवीय सहायता (एचडिएनपी) नेपालले बौद्धिक अपाङ्गता भएका बालबालिकालाई सहयोग गरेको छ ।
ललितपुरको महालक्ष्मी न.पा.सँगको सहकार्यमा एचडिएनपीले यस क्षेत्रमा काम गर्ने दुई संस्था लुभुमा रहेको बौद्धिक अपाङ्गताका अभिभावक समाज र ग्वार्कोस्थित बौद्धिक अपाङ्गता पुर्नस्थापना हेरचाह केन्द्रमार्फत सहयोग गरेको हो । संस्थाका उपाध्यक्ष सिर्जना घिमिरे, कोषाध्यक्ष सुरेन्द्र खतिवडा, सदस्य गङ्गा रिजाललगायतले शनिबार एक कार्यक्रमकाबीच अभिभावक समाजका अध्यक्ष चञ्चल पुरी र हेरचाह केन्द्रका अध्यक्ष उर्मिला के.सी.लाई सहायता सामग्री हस्तान्तरण गरे । जसमा ४२ थान ट्रयाक-सुट, व्याग तथा स्टेशनरी सामग्री समावेश थिए । त्यसमा प्रत्येक बालबालिकाले करिब रु. दुई हजार बराबरको साम्रग्री पाएको बताइएको छ ।
संस्थाका अध्यक्ष देवी ‘डेभिड’ आचार्यले गोजीको पैसाबाट छुट्याएर जम्मा पारेको रकमबाट उक्त खाद्यान्न किनिएको कोषाध्यक्ष खतिवडाले बताए ।
पाँचथर मूल घर भएका आचार्यले करिब दुई दशकदेखि अमेरिकामा बसेर उक्त संस्थामार्फत यहाँका नेपालीलाई सहयोग गरिरहेका छन् । संस्थाले विगत तीन वर्षदेखि महिनामा एक चोटी यहाँका वृद्धवृद्धा, अपाङ्ग, असहाय आदिलाई यस्तो सहयोग गर्दै आएको सदस्य रिजालले जानकारी दिए ।