गुल्मी, साउन ११ ।अविरल वर्षासँगै गएको पहिरोले पुरिएर गुल्मीमा पाँच जनाको ज्यान गएको छ । यसरी ज्यान जानेमा गुल्मीको हस्तिचौर गाविस एक मल्दी निवासी एकै परिवारका ६२ वर्षीया कालीका दर्जी, ४९ वर्षीया तुलसी दर्जी र १९ वर्षीया अस्मिता दर्जी रहेका छन् ।
त्यसैगरी, बिसुखर्क गाविस–९ मा पहिरोले पुरिएर गोपाल रानाका ८ वर्षीय छोरा सुजन राना र ६ वर्षीया छोरी सिमाना रानाको समेत ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भोला रावलले जानकारी दिनुभएको छ । पहिरोमा पुरिएर हस्तिचौरका ५० वर्षीय विष्णु सारु घाइते बनेका छन् । अहिले पनि घरमाथिबाट पहिरो खसिरहेका कारण पहिरोमा पुरिएका विसुखर्कका राना परिवारको उद्धार गर्न समस्या परेको प्रहरीले बताएको छ ।
बजार क्षेत्रका मानिस त्रासका कारण घरका सामान सुरक्षित स्थानमा सार्न थालेका छन् । बाढीले बम्घामा एक हल गोरु र एउटा गाई समेत बगाएको छ । विगत ५५ वर्षपछि गुल्मीमा यति ठूलो बाढी आएको स्थानीयले बताएका छन् ।
बाढीले हजारौँ रोपनी फाँट समेत डुबानमा पारेको छ । बाढी र पहिरोका कारण गुल्मीमा एक दर्जनभन्दा बढी घरगोठमा समेत क्षति पुगेको बताइएको छ ।
यसैबीच केही दिन अघिदेखिको अविरल परेको झरीले सुनसरी जिल्लाका ११ गाविस, तीन नगरपालिका र एक उपमहानगरपालिकाको एक हजार ७०० घर डुबानमा परेका छन् ।
गएराति परेको वर्षाले जिल्लाको नरसिंह गाविसको वडा नम्बर ३, ४, ५, ६ र ७ मा अविरल परेको वर्षाले जलमग्न भई ७० घरभन्दा बढी बस्ती डुबानमा परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।
यसैगरी, छिटाहाको विभिन्न वडामा २५ घर साहेबगञ्ज गाविसको ७, ८ र ९ मा ५४ घर र घुस्की–४ मा थप ९ घर डुबान परेकाले ती डुबानमा परेकालाई सुरक्षित स्थानमा तथा आफन्तकोमा बसोबासका लागि प्रहरीले सहयोग गरेको पनि जिल्ला प्रहरी कार्यालय सुनसरीले बताएको छ ।
सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोख्रेलले सप्तकोसी नदीमा अहिले बिहान ८ बजेको समयमा दुई लाख ४३ हजार ७७४ क्युसेक प्रतिसेकेन्ड बाढीको बहाव कोसी ब्यारेजमा मापन भएको बताए ।
अहिले ब्यारेजका ५६ ढोकामध्ये ३१ वटा ढोका खोलिएका छन् । बिहान कोसी नदीमा बाढी घटेपनि अहिले पुनः बाढीको बहाव बढ्ने क्रममा रहेको पनि उनल जानकारी दिए ।
एकको मृत्यु – एक बेपत्ता
यसैबीच, सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानमा सोमबार भएका घटनामा परी एक जनाको ज्यान गएको छ । अर्का एकजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रहरीका अनुसार पूर्व झापा जाँदै गरेको बा ५६ प ६६६४ नम्बरको मोटरसाइकललाई झापाबाट काठमाडौँतिर जाँदै गरेको मे १ ख २०४० नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकलको पछाडि यात्रारत गुल्मी घर भई बानेश्वरमा बस्दै आएका २० वर्षीय हिमाल खत्रीको घटनास्थलमा नै मृत्यु भएको छ ।
मोटरसाइकल चालक झापाका २१ वर्षीय निशान खरेलको जिल्ला अस्पताल इनरुवामा उपचारपछि घर गएको प्रहरी उपरीक्षक पोषराज पोख्रेलले जानकारी दिए ।
यता सुनसरीको बराहक्षेत्र–१ मा स्थानीय दूधखोलामा आएको बाढीले बगाई सप्तकोसी नदीमा पु¥याएकाले इटहरी उपमहानगरपालिका–१ आइतबारे निवासी १७ वर्षीया सुशीला कार्की बेपत्ता भएकी छिन् । उनको खोजी भइरहेको छ ।
उनीसँगै बगेका भोजपुर जिल्लाको मानेभञ्ज्याङ–५ निवासी ज्ञानेन्द्र पराजुलीको भने स्थानीयवासी र प्रहरीले जीवितै उद्धार गरी स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको पनि जिल्ला प्रहरी कार्यालय सुनसरीले बताएको छ ।
तिनाउ नदीले पुल बगायो
रातभर परेको अविरल वर्षाका कारण तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल आज बगाएको छ ।
देवीनगर र बुद्धनगर जोड्ने झोलुङ्गे पुल आज बिहान किनारको जमिन नदीले कटान गर्दै जाँदा ढलेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी वरिष्ठ उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए ।
सोमबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले नदी किनारका बस्ती जोखिममा परेको र उद्धारमा खटिएका प्रहरी जाँदै गर्दा पुल भत्किएपछि वडा प्रहरी कार्यालय बुटवलका प्रहरी हरिनारायण चौधरी पुलसँगै खसेर घाइते भएका छन् ।
तिनाउमा आएको अनियन्त्रित बाढी घरका पक्की पर्खाल, जाली र ठोकर भत्काएर बस्तीमा पसेको हो । बाढीबाट तिनाउ किनारमा रहेका १६ टोलका छ हजार बढी व्यक्ति जोखिममा रहेको अनुमान छ ।
पुल बगाउँदा उपमहानगरपालिकासँग तिनाउपारिका बस्ती जोड्ने प्रमुख माध्यम अवरुद्ध भएको छ । यसबाट बुटवल आवतजावत गर्न बुटवलका मोतीपुर, सेमलार, फर्सा्टिकर लगायत क्षेत्रका जनता प्रभावित हुने भएका छन् ।
बाढीले नदी किनारको जमिन कटान गर्न थालेपछि सो क्षेत्रका बस्तीमा त्रास उत्पन्न भएको छ । बस्तीका सर्वसाधारण नदी कटान हुने डरले घरबाट सरसामान निकालेर अन्यत्र सरेका छन् ।
यसैबीच, गुल्मीको मुसिकोट गाविस र वामी गाविसबीच जोड्ने झोलुङ्गे पुल बडिगाड खोलाले बगाएको छ ।
मुसिकोट गाविस–६ ताल्तुङ र वामी गाविस–१ को सुदीमा रहेको झोलुङ्गे पुल अविरल वर्षासँगै बडिगाड खोलामा आएको बाढीले आज बिहान उक्त झोलुङ्गे पुल बगाएको स्थानीय समाजसेवी जनकबहादुर खत्रीले जानकारी दिए ।
यस झोलुङ्गे पुल हुँदै गुल्मी तथा बागलुङका गरी झन्डै एक दर्जनभन्दा बढी गाविसको आवतजावतमा प्रत्यक्ष समस्या पु¥याएको छ । झोलुङ्गे पुल टुटेसँगै मुसिकोटवासी र वामीटक्सार बजारमा पढ्ने विद्यार्थी, सर्वसाधारण, खेती किसानी, व्यापार व्यवसाय गर्ने लगायतको दैनिकीमा पुल टुटेसँगै आवतजावतमा थप कष्टकर बनेको छ ।
विसं २०१८ पछिकै बडिगाड खोलाको बाढी ठूलो र उच्च भएको स्थानीयवासीको भनाइ छ । खोलाले गुल्मीको मुसिकोट गाविस वडा नं ६ र ७ का आधा दर्जन किसानको खेत कटान गर्दा सयौँ मुरी फल्ने धान समेत बगाएको छ ।