काठमाडौं २० साउन – ट्यांकरबाट वितरण गरिएको अत्यधिक प्रदूषित पानीका कारण उपत्यकामा हैजाले प्रकोपको रूप लिएको पुष्टि भएको छ । विगत एक महिनादेखि ललितपुर, भक्तपुर र काठमाडौं जिल्लाका विभिन्न स्थानमा फैलिरहेको हैजाको मुख्य कारक दिसा मिश्रित प्रदूषित पानी ‘कोलिफर्म’ भएको स्वास्थ्य सेवा विभाग महामारी तथा रोग नियन्त्रण महाशाखाले पुष्टि गरेको छ, आजको अन्नपूर्ण पोस्टमा खबर छापिएको छ ।
हैजाका संक्रमितले पिउँदै आएको पानीको नमुना टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा करिब ५० प्रतिशत पानीको नमुना दिसा मिश्रित प्रदूषित भएको फेला परेको हो । महाशाखा, जिल्ला जनस्वास्थ्य कार्यालय र जोन हप्किन्स विश्वविद्यालयबाट खटिएको टोलीले स्थलगत अध्ययनपछि संकलन गरेको ९६ वटा पानीका नमुना जाँच गर्दा ४६ वटामा कोलिफर्म पाइएको महाशाखाका डा. गुणनिधि शर्माले बताए ।