कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या भएको ४ महिना हुँदासम्म सरकारले दोषी पहिचान गरी कारवाही नगरेको विषयलाई लिएर प्रर्दशनहरु देशभर भएका छन् ।
यसै क्रममा सरकार भेटियो तर न्याय भेटिएन भन्ने नारासहितका केही पोष्टर स्वतस्र्फुत रुपमा टाँसीएकोमा प्रहरीले उक्त पोष्टर उप्काएर फालेका थिए । केही दिन अघि नयाँ युगको प्रारम्भ भन्दै प्रधानमन्त्रीको तस्वीर सहितको पोष्टर टाँगिएको थियो ।
जसलाई लिएर आम जनमानसमा प्रश्न प्रतिप्रश्न जागेका थिए । सँगसँगै सरकार र प्रधानमन्त्रीले चर्को आलोचना खेप्नु परेको थियो । एउटी बालिकाका लागि न्याय माग्न टाँसिएको पोष्टर उप्काउन पर्ने कारण के ?
के शहरमा अब अन्यायमा परेकी चेलीका पक्षमा पोष्टर नै टाँस्न नपाइने ? हुन सक्ला निर्मला हत्या काण्डले विभिन्न पक्षलाई मुद्धा मसला पनि दिइरहेको होला । केही समुह र व्यक्तिहरुका लागि निर्मला एक बालिका मात्र नभई एउटा केश, बिषय र मसला पनि बनिरहेकी होलिन । जसले जुन सुकै स्वार्थ वा निश्वार्थ पोष्टर टाँसे पनि पोष्टरमा त यहि नै लेखिएको थियो कि सरकार त भेटियो तर न्याय भेटिएन, ‘जस्टिस डिलेड इज जस्टिस डि नाइड ।’
अर्थात ढिला न्याय दिनु भनेको न्याय नदिनु हो । बलात्कारी र हत्यार सार्वजनिक नहुँदा यति सन्देश लेखिएका यि निर्जिव पोष्टरमा के खराबी छ र यिनलाई च्यात्नु प¥यो ? जसले जुन स्वार्थ वा फाइदा कै लागि यी पोष्टरहरु टाँसेपनि यिनले कसको के बिगार गर्छन् होला ।
उल्टो यस्तो शान्तीपुर्ण र सांकेतिक गतिविधिहरु अत्यावस्यक छन् टायर बाल्ने, नेपाल बन्द गर्ने वा अन्य हिंसात्मक गतिविधि गर्ने काम भन्दा त यस्ता सन्देश बोकेका पोष्टरहरु कयौँ गुणा सिर्जनात्मक हुन । लोकतान्त्रिक सरकारले यति जाबो विरोध पनि पचाउन सक्दैन भने सरकारको पाचन प्रणालीमा ठुलै खराबी छ ।
राम्रो चेक जाँच गराउनु पर्छ । त्यसमाथि पनि कुन पोष्टर टाँस्न पाउने, कुन नपाउने भन्ने नीति भए पनि लौ । प्रधानमन्त्रीको मात्र, सरकारको मात्र पोष्टर टाँस्न पाइन्छ, अरुको पाइदैन भन्ने कतै लेखिएको भए देखाई पाउँ नत्र सरकारले पोष्टर टाँस्न नदिने ठाँउ बाहेक र राज्य विरुद्धका सामाग्रीहरु लेखिएको पोष्टर बोहक सबै पोष्टरहरु मजाले टाँस्न पाउनु पर्छ ।
४ महिनासम्म एउटा बलात्कारी र हत्यारा पत्ता नलाग्दा न्याय प्रेमीले न्याय देउ भनेर क्रियटिभ तरिकाले भनिरहँदा टाउको दुखेकोे छ भने टाउकाको पनि चेक जाँच गर्नु जरुरी देखिन्छ । हुन सक्छ, विपक्षी वा प्रतिपक्ष राजनीतिक दलहरुका लागि सरकारलाई औंला ठड्याउने बिषय वस्तु भइन् होला निर्मला, केही अधिकारकर्मीहरुका लागि दरिलो केश बनिरहेकी होलिन निर्मला, केही सञ्चारकर्मी र संचार माध्यमका लागि गतिलो हेडलाइन र स्कुप बन्दैछिन् होला निर्मला तर हाम्रा लागि अत्याचार र अन्यायको शिकार हुन् निर्मला ।
निर्मलाको बलात्कार र हत्यापछिको ४ महिनामा लगभग ५ सय बलात्कारका केश देखिएका छन् । त्यस कारणले पनि हाम्रो आवाज दरिलो र चर्को हुन जरुरी छ । आज पनि देश भर पोष्टर टाँस्ने र च्यात्ने काम भएछ । कसले के स्वार्थका लागि वा निस्वार्थमा किन पोष्टरहरु टाँस्ने र च्यात्ने काम गर्छ त्यो हामी जान्दैनाँै ।
यो पोष्टर कसले बनायो, त्यो पनि हामी जान्दैनौ र जान्नु पनि छैन । तर यो पोष्टरमा लेखिएको कुरा सहि हो । ‘सरकार भेटियो, न्याय भेटिएन, जस्टिस डिलेड इज जस्टिस डिनाइड ।’