युएस नेपाल न्युज, बैतडी । बैतडीको पुर्चौंडी नगरपालिका र डिलाशैनी गाउँपालिकाका विभिन्न ठाउँमा जाँडरक्सी खान र बेच्न रोक लगाइएको छ ।
पुर्चौंडीको वडा नम्बर ३ ढङ्ंगाबिसौनामा जाँडरक्सी बेचबिखनमा पूर्णरुपमा रोक लगाउने निर्णय भएको छ । निर्णय विपरीत जाँडरक्सी बेचेको पाइए १० हजार रुपैयाँ जरिवाना गरिने निर्णय भएको मदिरा नियन्त्रण समितिले जनाएको छ ।
यस्तै जाँडरक्सी खाने र ओसारपसार गर्नेलाई पाँच हजार रुपैयाँ जरिवाना गर्ने निर्णय भएको छ । जाँडरक्सीका कारण भैरहेका हिंसा रोक्नका लागि जाँडरक्सी बेच्ने, खाने र ओसारपसार गर्नेलाई कारबाही गर्ने निर्णय भएको मदिरा नियन्त्रण समितिका राजेन्द्र धामीले जानकारी दिनुभयो ।
यस्तै जिल्लाको डिलाशैनी गाउँपालिका–७ को मनेकुडा टोलमा पनि जाँडरक्सी र जुवातासमा रोक लगाइएको छ । बेतालेश्वर युवा क्लबमा आवद्ध युवाले गाउँमा जुवातास र रक्सी प्रतिबन्ध गरेको स्थानीय सागर ऐरले जानकारी दिनुभयो ।
वडासदस्य लक्ष्मणबहादुर ऐरको उपस्थितिमा बसेको बैठकले वडाभित्र जाँडरक्सी बेच्नेलाई पाँच हजार ५ सय ५५ रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । जाँड खाएर हल्ला गर्नेलाई दुई हजार ६ सय, ओसारपसार गर्नेलाई दुई हजार रुपैयाँ जरिवाना लिने निर्णय गरेको युवा क्लबका अध्यक्ष कम्मान ऐरले जानकारी दिनुभयो ।
यस्तै कसैले जुवातास खेलाए एक हजार ५ सय र खेलेमा एक हजार रुपैयाँ जरिवाना गर्ने निर्णय भएको छ ।