काठमाडौँ, ३१ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सञ्चारमाध्यामलाई व्यवस्थित र भरपर्दो बनाउनु आवश्यक रहेको बताउनुभएको छ ।
सूचना तथा सञ्चार मन्त्रालयले राखेको ‘आमसञ्चार नीति तथा आगामी कार्यदिशा’विषयको गोष्ठीपछि आज साँझ राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेको टोलीसँग कुरा गर्दै राष्ट्रपति भण्डारीले सञ्चारमाध्यम पारदर्शी, जवाफदेही र सामाजिक उत्तरदायी हुनुपर्र्नेे बताउनुभयो । उहाँले भन्नुभयो, “ जनतालाई सत्य राम्रो कुरा सुसूचित गर्ने काम सञ्चारकर्मीको हो, तपाईँहरुले मुलुकको पक्षमा सद्भाव, बन्धुत्व र भ्रातृत्वको समाचार सम्प्रेषण गर्नुहुनेछ भन्ने विश्वास म लिन चाहन्छु ।”
राष्ट्रपति भण्डारीले राष्ट्रिय सुरक्षा र एकताका पक्षमा कलम चलाउन पत्रकारसँग आग्रह गर्दै श्रमजीवी पत्रकारको हक, हित र पारिश्रमिकको विषय सरकारले गम्भीरतापूर्वक लिने विश्वास व्यक्त गर्नुभयो । उहाँले सरकारले सरकारी सञ्चारमाध्यमसँगै निजी सञ्चारमाध्यमलाई पनि विशेष चासोका साथ हेर्नुपर्ने बताउँदै भन्नुभयो, “दुर्गम क्षेत्रका सञ्चारमाध्यमलाई राज्यले विशेष चासोका साथ हेर्नुपर्छ ।”
सो अवसरमा सूचना तथा सञ्चारमन्त्री शेरधन राईले संविधानको भावना र मर्मअनुसार सञ्चार नीति बनाउन लागिएको र त्यसलेसञ्चारक्षेत्रका पीडालाई सम्बोधन गर्ने बताउनुभयो ।
सूचना तथा सञ्चारसम्बन्धी उच्चस्तरीय समितिका अध्यक्ष काशीराज दाहालले संविधानले दिएका अधिकारलाई आधार मानेर आमसञ्चार नीति ल्याउन लागिएको स्पष्ट पार्नुभयो । नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले संविधानले दिएका अधिकारलाई व्यवहारमा लागू गरेर श्रमजीवी पत्रकारका क्षेत्रमा सरकारले विशेष योजना ल्याउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा ‘सूदूर सन्देश’ साप्ताहिकका प्रधानसम्पादक हेमन्त पौडेल, ‘पोखरापत्र’ साप्ताहिकका प्रधानसम्पादक पुण्य पौडेल, सामुदायिक रेडियो दोलखाका अध्यक्ष लक्ष्मण खड्का, ‘बर्दिया टाइम्स’ साप्ताहिकका सम्पादक बालकृष्ण ओली, ‘इलाम सन्देश’ दैनिकका सम्पादक सोमनाथ सुसेली लगायत काठमाडौँ उपत्यका तथा मोफसलमा पत्रकारिता गर्ने करिब ५० पत्रकारको सहभागिता थियो ।