इन्स्ट्यान्ट मेसेजिंग एप ह्वाट्सएपका पारखीहरुकोे संख्या विश्वमा करोडौँ छ । ह्वाट्सएपले कलिंग तथा भिडियो कल समेतको सेवा ल्याएपछि त के चाहियो र ? मानिसहरु यसमा झुम्मिइरहेकै छन् । तर कतिपय देशहरुमा ह्वाट्सएप अझैपनि मानिसहरुको पहिलो रोजाइको मेसेजिंग एप बन्न सकेको छैन । अस्ट्रेलियामा भाइबर सबैभन्दा लोकपि्रय छ भने चीनमा विच्याट । त्यस्तै जापानमा लाइन । तर यी सबैभन्दा फरक फेसबुक भने दुनियाका सबैजसो देशमा उत्तिकै लोकप्रिय छ । (यद्यपि चीनमा प्रतिबन्धित छ) । फेसबुक मेसेन्जर प्रयोगकर्ताको संख्या हालै १ अर्ब नाघेको तथ्यांक सार्वजनिक भएको थियो ।
तपाइँका पनि कुनै साथीले एउटा मेसेजिंग एप प्रयोग गर्छन् होला र अर्कोले अर्को । यतिधेरै मेसेजिंग एपको विकल्प रहेको बेला आफ्ना सबै साथीहरुसँग कसरी कनेक्ट हुने होला ? यसरी फरक फरक मेसेजिंग एप भएका साथीहरुसँग एकसाथ कनेक्ट हुनका लागि एउटा मात्र होइन, अनेक विकल्प छन् । बस, एउटा विकल्प चुन्नुहोस् । यस्ता केही एपहरु छन् जसले धेरै मेसेजिंग एपलाई एकत्रित गर्दछन् ।
अल इन वन नामक एप प्रयोग गर्न तयार हुनुहुन्छ भने अरु धेरै मेसेजिंग एपमा लगइन गर्नुको साटो तपाइँ केबल एउटाबाट मात्रै काम गर्न सक्नुहुन्छ । क्रोम ब्राउजर प्रयोग गर्नेका लागि पनि यो निकै उपयोगी एप हो ।
एकपटक आफ्ना स्मार्टफोन वा ट्याबलेटमा यो एप डाउनलोड गर्नुभयो र कुन कुन मेसेजिंग एपलाई कनेक्ट गर्ने भन्ने चुन्नुभयो भने त्यसपछि विभिन्न खाले च्याट सर्भिसको नोटिफिकेसन आफ्नो डिभाइसमा प्राप्त गर्न सक्नुहुन्छ । यसले विभिन्न २९ वटा च्याट सर्भिसलाई एकसाथ जोड्दछ ।
फ्रेन्ज पनि यस्तै खाले इन्टिग्रेटेड मेसेजिंग सर्भिस हो । यो विन्डोज, एप्पल तथा लिनक्स प्रयोग गर्नेहरुल प्रयोग गर्न सक्दछन् । यो अल इन वन जस्तै हुन्छ । यसमा पनि तपाइँले कुन च्याट सर्भिसको नोटिफिकेसन प्राप्त गर्न चाहनुहुन्छ, त्यो छनोट गर्न सक्नुहुन्छ । आफ्नो ल्यापटप वा डेस्कटपमा र्यामबक्स डाउनलोड गरेसँगै तपाइँले विभिन्न ४४ प्रकारका मेसेजिंग एपको फाइदा उठाउन सक्नुहुन्छ ।