पदयात्रा मार्गहरू कसरी आकर्षण गुमाउँदै छन्

पदयात्रा मार्गहरू कसरी आकर्षण गुमाउँदै छन्
मंगलबार , साउन २४, २०७९
पर्यटन

नेपालको पर्यटनको एउटा प्रमुख आकर्षण मानिएको पदयात्रा मार्गहरूमा जथाभावी बनेका सडकहरूले ती मार्गको आकर्षण तथा गुणस्तर घटाइरहेको भन्दै पर्यटन व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन्।

जथाभावी बनेका सडकहरूका कारण पर्यटकहरूले त्यस मार्गमा बिताउने समय घटाउनुका साथै त्यहाँ दोहोर्‍याएर आउन वा उनीहरूले अन्यलाई सुझाउन समेत कम हुन थालेको व्यवसायीहरू बताउँछन्।

त्यस्ता सडकहरू पहिले रहेका पदयात्रा मार्गलाई नै आधार मानेर विस्तार गरिएका हुँदा त्यहाँको पर्यटन संरक्षणका लागि तत्काल आसपासमा नयाँ मार्गहरू निर्माण आवश्यक रहेको व्यवसायीहरूको मत पाइन्छ।

दश वर्षयता पदयात्रा गाइडका रूपमा काम काम गरिराखेकी रितु ग्याम्दानले पछिल्ला केही वर्षमा पर्यटकले पहिलेजस्तो आनन्द मानेको नपाएको अनुभव सुनाइन्।

नेपाल आउने धेरैजसो पर्यटकहरू यसअघि यहाँ घुमेर फर्केकाको सुझावमा आउने हुँदा बिग्रिराखेको पदयात्रा मार्गले पर्यटकहरूको सङ्ख्या नै घटाउन सक्नेमा उनको चिन्ता छ।

“यातायातले पदयात्रा गर्ने बाटोमा हल्लाखल्ला गराएको छ। रूखहरू त्यसैगरी काटिँदा चराचुरूंगी पहिलेजस्तो छैनन्।”

पदयात्रा मार्गभन्दा परबाटै सडकहरू निर्माण गर्न व्यवसायीहरूले सुझाउँदै आएको बताए तापनि त्यसो नहुँदा कतिपय मार्गहरू सोझो मारमा परेको पाइएका छन्।

पदयात्रा मार्ग मिचिएको ठाउँमा वैकल्पिक रूटहरू बनाउने काम समेत नहुँदा विस्तारै त्यस्ता मार्ग नै हराउन सक्नेमा व्यावसायीहरूको चिन्ता छ।

टिम्स भनिने पदयात्री व्यवस्थापन कार्डबाट सरकारी कोषमा करोडौं रूपैयाँ एकातर्फ त्यत्तिकै थन्किएको उनीहरूको गुनासो पाइन्छ।

ट्रेकिङ् एजेन्ट्स एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहाल भन्छन्, “एक त पदयात्राको समय छोटिएको छ। अर्कोतर्फ प्रसिद्धि कमाएका मार्गहरूमा पर्यटकहरूको मोह घटिरहेको छ।”

व्यवासायीहरूका अनुसार पदयात्री पर्यटकहरूको बसाई ८० प्रतिसतसम्मले छोटिएको छ।

मार्गहरू व्यवस्थापनका लागि पर्यटन बोर्ड र टान मिलेर काम गर्नुपर्न व्यवस्था छ।

कस्तो विकल्प?

बनेका बाटोहरू समेत राम्रा नहुँदा धुलो र ध्वनसले पदयात्राको न्यूनतम मापदण्ड बिगारिराखेको विज्ञहरू बताउँछन्।

जसका कारण कुनै समय विश्वमै उत्कृष्ट पदयात्रा मार्ग भनिएको अन्नपूर्ण सर्किटजस्ता क्षेत्र छाडेर जभोलि पदयात्रीहरूको रोजाइमा डोल्पा, खप्तडजस्ता क्षेत्रहरू पर्न थालेको उनीहरूको भनाइ पाइन्छ।

पर्यटनविद् खेम लकाई भन्छन्, “मास्क लगाएर पदयात्रा गर्न कोही आउँदैनन्। त्यस्ता विशेष मार्गहरूमा केबलकारहरूको विकल्पमा जाँदा हुन्छ। आजभोलि केबलकारका डिब्बाहरू मालवाहक समेत आइसकेका छन्।”

केही दिनदेखि एक महिनाभन्दा बढिसम्म बिताउन सकिने दर्जनौं पदयात्रा मार्गहरू नेपालमा छन्।

यहाँ आउने कुल पर्यटकहरूमध्ये आधाभन्दा बढिको उद्देश्य पदयात्रा नै हुने हुँदा तिनको गुणस्तरबारे समयमै नसोचिए त्यसको ठूलो असर देशकै अर्थतन्त्रमा समेत पर्न सक्नेमा व्यवसायी तथा विज्ञहरू चिन्ता व्यक्त गर्छन्।

Post Comment