मेलम्चीको पानी उपत्यकाका सबै भागमा वितरण गर्नुपर्न माग

समाज

काठमाडौँ, २३ पुष । उपत्यकाबाट निर्वाचित सांसदहरुले मेलम्चीको पानी उपत्यकाका सबै भागमा वितरण गर्नुपर्न माग गर्नुभएको छ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना निर्देशनालयले आज यहाँ आयोजना गरेको मेलम्चीको पानी वितरणको प्रगति र चुनौती विषयक अन्तरक्रियामा उहाँहरुले उपत्यकाका जलाधार क्षेत्रको संरक्षण गरिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले सन् २०१७ सम्ममा देशभर आधारभूत खानेपानी र सरसफाइ सेवा पु¥याउने लक्ष्य प्रति सरकार गम्भीर रहेको बताउनुभयो । “विसं २०७४ असोज सम्ममा उपत्यकामा मेलम्चीको पानी ल्याई सक्ने योजनाका साथ मन्त्रालयले काम गरिरहेको छ । उपत्यकाका जलाधार क्षेत्रमा जलाशय निर्माण गरी थप पानीको जोहो गर्ने मन्त्रालयका लक्ष्य छ”¬–उहाँले भन्नुभयो ।

कार्यक्रममा सांसदहरु प्रकाशमान सिंह, दीपकप्रसाद कुईकेल, रामेश्वर फुयाँल, भीमसेनदास प्रधान, ध्यानगोविन्द रञ्जित, राजन केसी, उदयशम्शेर राणा, चन्द्र महर्जन, रामेश्वर ढुङ्गेल, डा सुबोध पोखरेल, रविन्द्रप्रताप शाह, गीता राणा, विक्रम थापा, औसर शाह, शिवचन्द्र चौधरी, राज्यलक्ष्मी श्रेष्ठ, सीता ज्ञवाली लुइटेल, कान्ता भट्टराई, रुपा महर्जन र जुगबहादुर खड्गीले मेलम्चीको पानी उपत्यकामा ल्याउने पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सपना विपनामा परिणत हुन लागेकामा खुसी व्यक्त गर्नुभयो ।

सो अवसरमा मन्त्रालयका सचिव भीमप्रसाद उपाध्याय, निर्देशनालयका आयोजना निर्देशक तिरेशप्रसाद खत्री, उपनिर्देशक अनिलभद्र खनाल, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराई, खानेपानी तथा ढल निकास विभागका महानिर्देशक तेजराज भट्ट, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक संजिवविक्रम राणा र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका महाप्रबन्धक डा महेशप्रसाद भट्टराईले मेलम्चीको पानी उपत्यकामा वितरणका लागि भइरहेका कामबारे जानकारी गराउनुभएको थियो ।

Post Comment