जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई खत्तम पार्न सरकार र मधेसी मोर्चा लागे :-उपाध्यक्ष रावल

राजनीति

२४,पुस । एमालेका उपाध्यक्ष एवम् प्रभावशाली नेता भीम रावलले संविधान संशोधनका नाममा दोस्रो जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई खत्तम पार्न सरकार र मधेसी मोर्चा लागेको आरोप लगाएका छन् ।

नेपाली रेडियो नेटवर्कमा आइबार बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै उपाध्यक्ष रावलले मिलेर बसेका जनतालाई विभाजन गर्ने गरेर संशोधन प्रस्ताव ल्याइएको बताए । ‘दोस्रो जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई सरकार र मधेसी मोर्चाले खत्तम पार्न लागेका छन्’, उनले भने, ‘यस्ता राष्ट्रघाती प्रस्तावलाई फिर्ता नलिँदासम्म सदन चल्दैन । एमाले पछाडि हट्दैन ।’

उनले निर्वाचनसम्बन्धी कानून अगाडि बढाउन र चुनाव गर्ने वातावरण बनाउन सरकारलाई सहयोग गर्ने बताए । तर संशोधन प्रस्ताव अगाडि बढ्न नदिने चेतावनी उनले दिए ।

‘प्रधानमन्त्रीले संविधानको धारा २७४ को उपधारा (४) अनुसार सीमाङ्कनको प्रस्ताव अगाडि बढाउँदिनु हुँदैन’, उपाध्यक्ष रावलले भने, ‘संविधान विपरितका कुनै पनि कार्यको एमालेले प्रतिवाद गर्छ ।’

सर्वोच्चको आदेश विपरित संविधान संशोधन प्रस्ताव अगाडि बढाउने प्रयास गरिए संदनको अवरोध यथावत रहने उनको भनाइ छ ।

मधेसी मोर्चाका नेता एवम् नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले एमालेले राष्ट्रिय झण्डा दुरुपयोग गरेर संविधान कार्यान्वयन हुन नदिएको आरोप लगाए । ‘राष्ट्रिय झण्डा बोकेर सडकमा जाँदैमा राष्ट्रियता बलियो हुँदैन’, उनले भने, ‘एमालेले राष्ट्रिय झण्डा बोकेर संविधान कार्यान्वयन हुन दिएको छैन । चुनाव पनि चाहेको छैन ।’

अध्यक्ष झाले एमालेले संसद अबरोध गरेर जनताको आवाजलाई कोठाभित्र थुन्ने प्रयास गरेको आरोप लगाए । ‘एमालेले जनताको आवाज सदनसम्म जान दिएको छैन । यो कार्य मधेसी जनताको हितमा कदापि छैन ।’

Post Comment