काठमाडौँ, ७ असार । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा पञ्च–दिवसीय योग महोत्सव पशुपति परिसर वनकालीमा सुरु भएको छ ।
आनन्दमार्ग प्रचारक सङ्घ र श्री पशुपतिनाथ सेवक सङ्घले आयोजना गरेको महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले उद्घाटन गर्नुभयो ।
मन्त्री पोखरेलले योगले संसारबाट हत्या, हिंसा र आततायीबाट मुक्त गरी सिङ्गो समाजलाई सकारात्मक बाटोतर्फ लैजाने प्रेरित गर्न मद्दत गर्ने बताउनुभयो ।
नेपालको हिमवत्खण्डबाट भगवान् शिवले योगको सुरुवात गरेको चर्चा गर्दै उहाँले शान्ति, समुन्नत समाजको विकासका लागि योग अभ्यास जरुरी छ भन्नुभयो ।
देशमा धर्म निरपेक्षता घोषणा गरिएको भए तापनि नेपाल विश्वको हिन्दू र बौद्ध दर्शनको उद्गमस्थल भएको र योगको अभ्यास यी दुबै धर्ममा प्रयोग गरी समाजलाई सही बाटोमा लैजाने प्रयास गरेको बताउनुभयो ।
कार्यक्रममा नेदरल्यान्ड, फ्रान्स, बेलायत, स्पेन, पाकिस्तान, भारतबाट आएका टोलीले योग तथा भजन प्रस्तुन गर्नुभएको थियो ।
पाँच दिनसम्म चल्ने महोत्सवमा सुमार्गी भवन पशुपति प्राङ्गणमा हुनेछ । महोत्सवमा योग अभ्यास खासगरी नेपाल र भारतका योग गुरुहरुले गराउनु हुनेछ । महोत्सवमा योगको सैद्धान्तिक र व्यावहारिक महत्वका बारेमा जानकारी दिइन्छ ।