“संविधान स्वाभिमान बचाउन ल्याइएको हो ।” :-उपाध्यक्ष रावल

राजनीति

भीमदत्तनगर । पूर्व उपप्रधानमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले स्थानीय निकायको निर्वाचन गर्न ढिलाइ गर्न नहुनेमा जोड दिनुभएको छ ।

कञ्चनपुरको भीमदत्तनगरमा शनिबार नेपाल उद्योग तथा व्यवसायी महासङ्घको प्रदेश नं ७ स्तरीय भेलाको उद्घाटन गर्दै उपाध्यक्ष रावलले तोकिएको समयमा स्थानीय तहको निर्वाचन हुन नसके मुलुकको राजनीति अप्ठ्यारोमा पर्ने बताउनुभयो ।

“दिगो शान्ति, राजनीतिक स्थायित्व, जनताको हकअधिकारका लागि पनि निर्वाचन गर्नुपर्छ ।” रावलले भन्नुभयो – “नेकपा (एमाले) तत्काल निर्वाचन गराउन माग गर्दछ ।” वर्तमान सरकारले राष्ट्रिय हितविपरीत क्रियाकलाप गरिरहेको आरोप लगाउँदै उहाँले स्वाभिमानलाई कमजोर हुन नदिन प्रतिपक्षी दल एमालेले व्यवस्थापिका–संसद् अवरुद्ध गर्नुपर्ने बताउनुभयो ।

“संविधान स्वाभिमान बचाउन ल्याइएको हो ।” रावलले भन्नुभयो –“स्वाभिमान कमजोर पार्न र एकताबद्ध भएको तराई, पहाड–हिमाललाई टुक्र्याउन होइन ।” संविधान संशोधन जनताको इच्छा, आकाङ्क्षा नभएको दाबी गर्दै उहाँले राजनीतिक स्थिरता हुन नदिने षड्यन्त्र भइरहेको धारणा राख्नुभयो । संविधान संशोधन गरेर कुनै समस्या समाधान नहुने उहाँको भनाइ थियो ।

Post Comment