भक्तपुर ।नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले निर्वाचन नभए संविधान असफल हुने भन्दै नयाँ चुनावबाट दुई तिहाई बहुमत ल्याएर संविधान संशोधन गर्न मधेसी मोर्चालाई आग्रह गरेका छन् ।
संविधान संशोधन गरेर मात्रै चुनाव घोषणा गर्न सभापति शेरबहादुर देउवाले मधेसी मोर्चासँग सहमति गरेको भोलिपल्ट महामन्त्री कोइरालाले निर्वाचन घोषणा छोडेर संविधान संशोधनका पक्षमा कांग्रेस नउभिने बताए ।
रफत सञ्चार क्लवमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले सरकारले ०७४ माघ ७ गते भित्र तीन तहको निर्वाचन गर्न नसके संविधान पूर्ण रुपमा असफल हुने बताए ।
जेठ १० गते भित्र कुनै पनि हालतमा स्थानीय निकायको निर्वाचन गर्नुपर्ने उनले बताए । उनले स्थानीय निकायको निर्वाचन गरेर मात्र संविधान संशोधन गर्नुपर्छ भन्ने पक्षमा कांग्रेस रहेको बताउँदै सबै नेता तथा कार्यकर्तालाई स्थानीय निर्वाचनमा होमिन आग्रह समेत गरे ।
‘कांग्रेस हिमाल, पहाड र तराईलाई छुट्याएर संघीय प्रदेश बनाउनुपर्छ भन्ने पक्षमा छैन’ महामन्त्री कोइरालाले भने, ‘पार्टीका केही नेताले भन्दैमा संविधान संशोधन गर्न सकिंदैन, दुईतिहाइ बहुमत पुग्दैन ।’
उनले कांग्रेस पहाडलाई विभाजन गरेर संघीय प्रदेश बनाउनु हुन्न भन्ने पक्षमा रहेको बताए । पाँच नम्बर प्रदेशलाई पहाडबाट विभाजन गर्दा सामाजिक एकता तथा सद्भावना खल्बलिने बताउँदै मधेशी मोर्चाले भन्दैमा काग्रेस संविधान संशोधनमा नलाग्ने कोइरालाले वताए । ‘पहाड र मधेस छुट्याएर प्रदेश बनाउँदा समाजिक एकता र सद्भावना खल्बलिन्छ । सामाजिक सद्भाव खल्बलिनेगरी संविधान संशोधनको पक्षमा कांग्रेस छैन,’ कोइरालाले भने, ‘पहिला स्थानीय निकायको निर्वाचन गर्नु पर्यो, त्यसपछि प्रदेश हुँदै प्रतिनिधिसभाको निर्वाचन हुन्छ । त्यसमा दुईतिहाई पुर्याएर संविधान संशोधन गरे हुन्छ ।’
उनले अहिलेको संविधान ९२ प्रतिशत सभासद्ले पारित गरेको स्मरण गराउँदै विश्वमै सबैभन्दा बढी बहुमतले बनाएको संविधानलाई अल्पमतले भन्दैमा संशोधन गर्न नसकिने वताए । ‘संविधानसभाको ९२ प्रतिशतले बनाएको यो संविधान विश्वमै सबैभन्दा ठूलो बहुमतले बनाएको हो’ कोइरालाले भने, ‘अल्पमतले जे जे भन्छ त्यसै अनुसार संशोधन गर्न सकिंदैन ।’
महामन्त्री कोइरालाले पाटी महाधिवेशन भएको डेढ वर्ष भइसक्दा पनि पार्टीमा पदाधिकारीले पूर्णता नपाउनु विडम्बना भएको बताए । उनले सभापतिले छिटै पूर्णता दिने वचन दिइरहेकाले पदाधिकारीले पूर्णता पाउने बताए ।