हेटौंडा । नयाँ शक्ति नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधान संशोधन नभइ निर्वाचन हुनै नसक्ने दाबी गरेका छन् ।
हेटौंडामा बुधबार नेपाल प्रेस सोसाइटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले निर्वाचनको वातावरण तयार गर्न पहिले संविधान संशोधन हुनु पर्ने बताए ।
‘संविधान जारी गर्ने बेलामा नै त्रुटि थियो अब त्यो सच्याउनु पर्छ,’ भट्टराइले भने, ‘सबैको अधिकतम सहमतिमा संविधान संशोधन गरेर त्यो त्रुटि सच्याउनु पर्छ, मधेसी मोर्चाका केही जायज मागहरुको सम्बोधन नभई निर्वाचन हुनै सक्दैन ।’
‘संविधान संशोधन विना चुनावको तयारी भएमा देश द्वन्द्वमा फस्छ, अनावश्यक द्वन्द्वको बीऊ रोप्नु हुन्न,’ भट्टराईले भने ।
कसको नेतृत्वमा चुनाव गराउने भन्ने खेल सुरु भएको छ,’ उनले भन्ने, ‘स्वच्छ निर्वाचन जसको नेतृत्वमा भए पनि हुन्छ । तर, काँग्रेस, माओवादी र एमाले आ–आफ्नो नेतृत्वमा चुनाव गराउने खेलमा छन् । त्यसैले यो चुनाव हुनै सक्दैन ।’
सत्ता लिप्साका कारण ठूला दलहरुले देशलाई बन्धक बनाइ राखेको भट्टराईको आरोप छ । चुनाव भएमा आफूहरु तयार रहेको भन्दै उनले चुनावबाट ठूलो शक्तिको रुपमा उदाएर देश विकास गर्ने आफ्नो पार्टीको भिजन रहेको सुनाए ।