इलाम । नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एक साताभित्र सरकारले निर्वाचन घोषणा नगरे एमालेले देशव्यापी रूपमा आन्दोलन थाल्ने चेतावनी दिएका छन् ।
निर्वाचन नहुँदा मुलुकमा बेथिति बढेको भन्दै उनले सरकारले छिट्टै निर्वाचन मिति घोषणा नगरे एमालेले देशव्यापी रूपमा आन्दोलन सुरू गर्ने चेतावनी दिएका हुन् ।
विहिबार त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ क्याम्पस एकाइ कमिटी इलाम शाखाको अन्तक्र्रिया कार्यक्रममा बोल्दै नेता खनालले वर्तमान सरकार विभिन्न बहाना बनाउँदै निर्वाचनको मिति घोषणा गर्न नचाहेको आरोप लगाए ।
अबको पहिलो काम तीन तहकै निर्वाचन सम्पन्न गरेर मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानुपर्ने बताउँदै नेता खनालले संविधान कार्यान्वयनमा लाग्नुपर्नेमा जोड दिए ।
नब्बे प्रतिशत जनताले मत दिएर बनेको संविधान विश्वकै उत्कृष्ट रहेको विचार व्यक्त गर्दै उनले अहिले नै संविधान संशोधन प्रस्ताव अघि बढाउनु असान्दर्भिक र जनताको हित तथा भावना विपरीत हुने बताए ।