काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम बहादुर रावालले वर्तमान सरकारले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनमाथि सुझाव लिने नाममा छलफल चलाएर चुनाव नगर्ने षडयन्त्र गरेको आरोप लगाएका छन्।
बिहीबार प्रधानमन्त्रीले पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह पुनर्संरचना आयोगले बुझाएको प्रतिवेदन अध्ययन गर्न सरकारद्वारा गठित कार्यदलको काम कारबाही सम्बन्धमा जानकारी दिन र दलीय सुझाव लिन डाकेको बैठकमा सहभागी एमाले उपाध्यक्ष रावलले यस्तो आरोप लगाएका हुन्।
निर्वाचनको लागि आवश्यक कानुन निर्माण गर्नुपर्ने बेलामा संसद बैठक १५ दिनसम्म स्थागित गर्नु र आयोगको प्रतिवेदन अध्ययनको नाममा समय लम्ब्याएर निर्वाचनको वातावरण बिगार्न सरकार लागेको उनको आरोप छ।
उनले अघि भने,‘प्रधानमन्त्रीले निर्वाचनको मिति छिटो भन्दा छिटो तय गर्छौं भन्नुभयो, तर आयोग प्रतिवेदन कस्तो लाग्यो भनेर छलफल चलाउनु चुनाव नगर्ने बहाना भनेर शंका लाग्यो भन्यौं।’
उनले भने ‘सरकारले प्रतिवेदनका सम्बन्धमा हामीले यसो र्गयौँ भनेर बैठक बोलाउनु अघि के गर्ने होला भनेर सुझाव मागेको भए मात्र प्रतिपक्षीको हैसियतले हामी रचनात्मक सहयोग गर्ने थियौं।’