सर्लाही । नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंह आफ्नै निर्वाचन क्षेत्रमा कुटिएका छन् । र, उनको नाक-मुख फुटेको छ ।
सर्लाहीस्थित निर्वाचन क्षेत्र नम्बर ६ मा निर्वाचित सांसद सिंह डुमरिया भन्ने गाउँमा कुटिएका हुन् । उनलाई तराई मधेस सद्भावना पार्टी (तमसपा)का नेता शिवपुजन यादवले कुटेको स्रोतले बतायो ।
यादव क्षेत्र नम्बर ६ बाट अघिल्लो निर्वाचनमा उम्मेदवार थिए । उनले अमरेशसँग चुनावमा प्रतिस्पर्धा गरेका थिए । तर, पराजित हुनपुगे ।
स्रोत भन्छ- ‘अमरेश आफू ठूलो हुन खोजेपछि, घमण्ड देखाएपछि आपसी विवादमा शिवपुजनको नेतृत्वमा तमसपाका कार्यकर्ताले उनलाई कुटेका हुन् । कुटपीटपछि विद्यालयमा भागाभाग भयो ।’
अमरेशले ‘आईजीपी, डीआईजी मेरै हुन् । प्रचण्डलाई प्रधानमन्त्री पनि मैले नै बनाएको हो । के गर्नसक्छौं गर’ भन्दै फूर्ति लगाएपछि घटना भएको बताइएको छ ।
भारतका विश्वास पात्र अमरेशले यसअघि कैलालीको टीकापुरमा गएर ‘पहाडीलाई तराईबाट लखेट्नुपर्ने’ अभिव्यक्ति दिएका थिए । त्यसको भोलिपल्टै टीकापुरमा एसएसपीसमेत मारिनेगरी अप्रिय घटना भएको थियो ।
यसरी भयो घटना
शुक्रबार डुमरिया विद्यालयमा विद्यालय व्यवस्थापन समितिको चुनाव थियो । डुमरिया गाउँमा कांग्रेस (अमरेश) र तमसपा (शिवपुजन)को दबादबा छ । महन्थ ठाकुर पनि यही क्षेत्रका भएपनि उनको पार्टीको अवस्था यहाँ कमजोर छ । विद्यालय व्यवस्थापन समितिको चुनावका क्रममा अमरेशले नियमविपरित पेलेर जान खोजेपछि शिवपुजनले विरोध गरे । नियमअनुसार चल्नुपर्छ भनेर कुरा राखे । तर, अमरेशले ‘आईजी मेरो, डीआईजी मेरो, प्रधानमन्त्री मैले बनाए, सरकार मैले बनाए । म सँग निहुँ खोज्ने’ भन्दै फूर्ति हाने । र, यहाँ मेरो भनेको कसरी हुँदैन भनेर उफ्रिन थाले । त्यतिकैमा तमसपाका शिवपुजन अगाडि बढेर अमरेशमाथि मुक्का हिर्काए । त्यसपछि विद्यालयमा आएका अभिभावक र विद्यार्थीबीच भागाभाग भयो ।