किशोरीलाई एसिड हान्ने युवा यसो भन्छन् (पूरा पढ्नुहोस् )

जनसरोकार

बुटवल । मेरो घरमा बाबाआमा हुनुहुन्छ । एउटी दिदी र एउटी बहिनी काठमाडौंमा बसेर पढ्छन् । मेरी श्रीमती आठ महिनादेखि माइतीमा बस्दै आएकी छिन् । साढे तीन वर्षअगाडि फेसबुकमार्फत म र तुलसा सापकोटा साथी बनेका हौँ ।

कुवेतमा रोजगारीमा रहेका वेला उनी मेरो साथी बनेकी हुन् । कुवेतमा एक वर्ष बसेपछि म नेपाल फर्किएँ । उनीसँग भेट गर्न तीन वर्षअगाडि काठमाडौंबाट डिलक्स बस चढेर नारायणगढ आएँ । पहिला नै फोनबाट कुरा भएको थियो ।

म काठमाडौंबाट नारायणगढ आउने र त्यहाँ भेट भएर सँगै लुम्बिनी घुम्न जाने । सोहीअनुसार मैले उनलाई नारायणगढको किचन क्याफेमा भेटे । मेरो पहिलो भेट त्यही थियो ।

त्यसपछि निकै खुसीका साथ त्यही डिलक्स बस चढेर हामी लुम्बिनी प्रस्थान गर्‍यौँ । लुम्बिनीमा घुमघाम गरेपछि हामीहरू त्यस रात मायादेवी गेस्ट हाउसमा बस्यौँ । त्यसयता हामीले भेटघाटलाई निरन्तरता दिँदै आएका थियौँ । त्यसपछि म रोजगारीका क्रममा दुबई गएँ । तुलसालाई पनि दुबई बोलाएँ । दुबईमा हामी नजिकनजिक बसेका थियौँ । साथी–साथी भएका कारण एउटै कोठामा रात बिताउने बस्ने क्रम जारी थियो । मैले कमाएको पैसा उनले नै चलाउने गर्थिन् । उनी र मबीच प्रेम गहिरिँदै गयो । पाँचदेखि सात लाखसम्म उनलाई दिएँ ।

हामीबीच राम्रै सम्बन्ध थियो । घरपरिवारको सल्लाहमा मैले धादिङमा मागी विवाह गरेँ, जुन कुरा तुलसालाई पनि थाहा थियो । उनले पनि नकारात्मक प्रतिक्रिया जनाएकी थिइनन् । आठ महिनादेखि मेरी श्रीमती माइतीमा छिन् । सम्बन्ध बिग्रेर हैन, पढ्न सजिलो हुन्छ भनेर उनी माइती बसेकी हुन् । म विवाह बन्धनमा बाँधिए पनि तुलसा र मबीचको सम्बन्ध झन् गहिरिँदै गयो । म गहिरो प्रेममा परेपछि उनले बेवास्ता गर्न थालिन् ।

पुनः उनले मसँग ब्ल्याकमेलिङ गर्न थालिन् । चार लाख रुपैयाँ दिनुपर्छ भनेर मानसिक तनाव दिन थालिन् । केही महिनाअगाडि मात्रै ४० हजार दिएको थिएँ । उनले तँसँग जीवन बिताउन सक्दिनँ भन्नेजस्ता अभिव्यक्ति दिन थालेपछि मैले उनको अनुहार ड्यामेज गर्ने सोचअनुसार एसिड हानेको हुँ । गुगलमा हेर्दा एसिडले असर गर्छ भन्ने फेला पारेको थिएँ । तर, सोचेजस्तो भएन । त्यसदिन नसामा मस्त भइयो । दुवै हात हालाहाल गर्ने तहमा पुग्यौ । सामान्य असर पुर्‍याएर सजिलै सजायबाट उम्किने सोच बनाएको थिएँ । तर, सोचे जस्तो भएन, पछुतो लागेको छ ।

नयाँ पत्रिकामा खवर छ ।

Post Comment