नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूत बनेर भारतको राजधानी नयाँदिल्ली पुगेका नारायणकाजी श्रेष्ठले भारतीय नेताहरूसँग भेटवार्ता गरेका छन् ।
माओवादी केन्द्रका प्रभावशाली नेता श्रेष्ठले भारतीय राष्ट्रिय काँग्रेसका नेता करण सिंह, मणि शङ्कर र आनन्द शर्मासँग सोमबार भेट गरेको स्रोतले जनाएको छ । भेटका क्रममा नेपालको पछिल्लो राजनीतिक अवस्थाका विषयमा नेता श्रेष्ठले भारतीय नेताहरूलाई जानकारी गराएका थिए ।
माओवादी केन्द्रका विदेश विभाग प्रमुख एवम् पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठले अखिल भारत नेपाली एकता मञ्चले आयोजना गरेको कार्यक्रममा पनि सहभागिता जनाएका छन् ।
प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीसँगको भेटवार्ता सकारात्मक भएलगत्तै नेता श्रेष्ठ चारदिने भारत भ्रमणमा गएका हुन् । मंगलबार नेता श्रेष्ठले सत्तारुढ भारतीय जनता पार्टीका शीर्ष नेतासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बुझिएको छ ।