काठमाडौं। फागुन ८ गते भित्र बैशाख अन्तिम साताका लागि स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने बाचा गरेका प्रधानमन्त्री पुष्पकमल दाहालले शनिवार सत्ता समर्थक मधेसी मोर्चाको निकै चर्काे आलोचना सामना गर्नु पर्यो । चुनाव घोषणामा सहिममति खोज्न मोर्चाका नेताहरुलाई शनिवार वालुवाटार बोलाएका प्रधानमन्त्री दाहालले सुरुमै चुनाव घोषणा गर्न आफू वाध्य रहेको वताउँदै वाध्यता बुझिदिन आग्रह गरे ।
प्रधानमन्त्री दाहालको यस्तो आग्रह सुनेपछि क्रुद्ध भएका मोर्चाका नेताहरुले अव सम्बन्ध विच्छेद गर्ने चेतावनी दिए । उनीहरुले दाहाललाई प्रधानमन्त्रीमा समर्थन गर्दाको समय स्मरण गर्दै त्यसबेला गरिएको बाचा भूलेर चुनाव घोषणा गरे आधा घन्टा भित्र आन्दोलन घोषणा गर्ने चेतावनी दिए ।
‘हामी आन्दोलन छोडेरै तपाईंलाई प्रधानमन्त्रीमा समर्थन गर्न आएका थियौं, आज पनि हाम्रो उही अवस्था छ । तपाईंले त्यसबेला गरेको बाचा पूरा नगरी चुनाव घोषणा गरे आधा घन्टा भित्र आन्दोलनका कार्यक्रम तय हुन्छन्’ बैठकमा तमलोपा अध्यक्ष महन्थ ठाकुरले भने, ‘उद्धेश्य फरक परेपछि बाटो फरक हुन्छ ।’
प्रधानमन्त्री दाहालले भने चुनाव घोषणापछि संविधान संशोधनमा सहमति खोज्न सकिने र सकेसम्म चुनावमा माओवादी र मधेसी मोर्चाबीच मोर्चाबन्दी गरेर जान सकिने समेत वताए । उनले आफू पनि मधेसी मोर्चाका मागको पूरापुर समर्थक रहेको वताउँदै चुनाव घोषणापछि पनि संविधान संशोधन गरिनेमा विश्वास गर्न आग्रह गरे । ‘चुनाव घोषणा नगरे म निकै अप्ठ्यारोमा छु साथीहरुले बुझ्नु भएकै छ’ प्रधानमन्त्री दाहालले भने, ‘चुनाव घोषणा गरेपछि संशोधनका लागि पनि वातावरण बन्छ । म त सोचिरहेको छु तपाईंहरु चुनावमा जानु भयो भने सहकार्य गरेर सँगसँगै जाने विषयमा पनि सोचिरहेको छु ।’
आफू पनि मोर्चाका मागको समर्थक रहेकाले संविधान संशोधन गर्न लाग्नेमा विश्वास गर्न प्रधानमन्त्री दाहालको आग्रह थियो । ‘मलाई विश्वास गर्नुस्, म पनि कहीँ न कहीँ यिनै एजेण्डा बोकेर यहाँसम्म आएको हुँ’ प्रधानमन्त्री दाहालले भने, ‘यी मुद्दालाई निश्कर्षमा पुर्याउन म लागिरहन्छु ।’
बैठकमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तमलोपा वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठी र फोरम गणतान्त्रिक अध्यक्ष राजकिशोर यादवले सरकारलाई दिँदै आएको समर्थन चुनाव मिति घोषणालगत्तै फिर्ता लिने समेत बताए ।
प्रधानमन्त्री दाहाल र मोर्चाका नेताहरुको भेटवार्तामा राप्रपा महाधिवेशनको विषयमा पनि चर्चा भएको थियो । राप्रपा महाधिवेशनमा देखिएको जनसहभागिताले ‘परिवर्तन’ पक्षधरलाई चुनौती दिएको मोर्चाका नेताहरुले दाहालसँग गुनासो गरेका थिए । ‘तपाईं त राप्रपा महाधिवेशनमा हेर्न सकेत जानु भयो’ संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले भने, ‘अव तपाईंलाई सर्बहारा पक्षीय र क्रान्तिकारी नेता भन्ने कि नभन्ने, तपाईंलाई क्रान्तिकारी भन्ने हो भने त्यो क्रान्ति अब कहाँ गयो ?’
बैठकमा सहभागी कांग्रेस नेता तथा गृहमन्त्री विमलेन्द्र निधि र महामन्त्री सशांक कोइरालाले अब चुनावतर्फ अघि बढेर संविधान कार्यान्वयनमा जानुपर्ने वताए ।