काठमाडौं । मन्त्रिपरिषदले ३१ वैशाखमा स्थानीय तहको निर्वाचन घोषणा गरेपछि राजनीतिक पारो तातेको छ ।
मधेसी मोर्चा र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले निर्वाचन कुनै हालतमा हुन नदिने भन्दै आन्दोलन घोषणा गरेका छन् ।
यसैबीच प्रधानमन्त्री प्रचण्डले निर्वाचन घोषणा गरेकामा दक्षिण छिमेकी भारत क्रुद्ध बनेको छ । मधेस समस्या समाधान गर्न मधेसीकै सहयोगमा बनेको सरकारले समस्या यथावत राखेर निर्वाचन घोषणा गरेको भन्दै भारत चिढिएको स्रोतले बतायो ।
‘पुष्पकमल दाहालजी मधेस समस्या सामाधान गर्न मधेसीकै सहयोगका प्रधानमन्त्री बन्नुभएको हो’, नेपालका लागि भारतीय राजदूत रञ्जित रायको भनाइ उृद्धत गर्दै दूतावास स्रोतले भन्यो, ‘मधेसीलाई विश्वासमा लिन नसक्नु कमजोरी हो ।’
स्रोतका अनुसार राजदूत रायले कुनै हालतमा ३१ वैशाखमा निर्वाचन नहुने ठोकुवा गरेका छन् । संविधान संशोधन प्रस्ताव पारित नगरी निर्वाचन घोषणा गर्दा मधेस थप आन्दोलित हुने विश्लेषण भारतको छ । एमालेलाई खुसी पार्न मधेसी मोर्चालाई प्रधानमन्त्रीले धोका दिएको आरोप भारतको छ ।
यद्यपि औपचारिक रुपमा भने भारतको कुनै प्रतिक्रिया आएको छैन ।