मोर्चाले भन्यो :-‘ओली स्पष्ट, प्रचण्ड विश्वासघाती, देउवालाई सत्ता मात्रै चाहिने’

मोर्चाले भन्यो :-‘ओली स्पष्ट, प्रचण्ड विश्वासघाती, देउवालाई सत्ता मात्रै चाहिने’
राजनीति

काठमाडौं । सत्ता समर्थक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने फेरि चेतावनी दिएको छ । तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालय विजुलीवजारमा सम्पन्न मोर्चाको बैठकले सत्तारुढ तीन पक्षबीच मंगलवार बिहान वालुवाटार बैठकको समीक्षा गर्दै बुधवार अन्तिम वार्ता गर्ने र सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री निर्वाचित हुँदा मधेसी मोर्चा र भारतसँग गरेको सम्झौतामा धोका दिएको उनीहरुको निश्कर्ष छ । साथै प्रधानमन्त्री दाहाल दोधारे र ढुलमुले चरित्रको भएकाले उनका आश्वासनमा विश्वास गर्न नसकिएको पनि उनीहरुको निश्कर्ष छ ।

सत्ता गठबन्धनमा सहभागि भएयताका समग्र वार्ता प्रक्रियाको पनि उनीहरुले समीक्षा गरेका थिए । ‘बरु एमालेसँग ब्यवहार गर्न सजिलो छ, केपी ओली आफूले के गर्ने हो ढाँट्दैनन्’ मोर्चाको बैठकपछि एक नेताले भने, ‘प्रचण्डजी दुई धारमा हिंडेर हामीलाई धोका दिंदै हुनुहुन्छ । कांग्रेसलाई यसपछिको सरकारको नेतृत्व कसरी आफूले गर्ने बाहेक केही मतलव छैन ।’

उनका अनुसार बुधवार कांग्रेस र माओवादीसँग अन्तिम वार्ता गरी टुंगोमा पुग्ने वताए । ‘संविधान संशोधन बिना कुनै पनि चुनावमा हामी सहभागि हुँदैनौं भन्ने भोलिको वार्तामा जानकारी गराएर फर्कन्छौं’ उनले भने, ‘आजकै पोजिसन यदि सरकारको हो भने भोलिदेखि नै सरकारलाई दिएको समर्थन फिर्ता हुन्छ ।’

संविधान संशोधन विना चुनावमा नजाने सार्वजनिक अडान छोडेर संघीय समाजवादी फोरमले निर्वाचन आयोगमा पहिल्यै गएर दल दर्ता गराएको प्रति मोर्चा आवद्ध दलले आपत्ती जनाएका थिए । सोमबार एमाले सहित फोरमले पनि निर्वाचन आयोगमा नयाँ निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएको थियो ।
बैठकमा मोर्चा आवद्ध अन्य ६ दलका अध्यक्ष सहभागि भए पनि फोरम अध्यक्ष उपेन्द्र यादव सहभागि भएनन् ।

Post Comment