काठमाडौं । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले संविधान संसोधन विना चुनाव हुन नदिने बताएका छन् । उनले आफुहरुका माग पुरा नभएसम्म मुलुकमा निर्वाचन हुन नसक्ने पनि दावी गरे । अध्यक्ष ठाकूरले मधेसी मोर्चाका नेता मर्न तयार हुने तर चुनाव गर्न नदिने बताए । ‘हामी पटक पटक मधेसी नागरिकको एजेण्डाका लागि मरेका छौ’ उनले भने, ‘यसपटक पनि मर्न तयार छौ तर चुनाव हुन दिन्नौ । ’
मधेसको माग पुरा नभएसम्म निर्वाचन हुन सक्दैन, अध्यक्ष ठाकुरले भने – मधेसका माग पुरा नभएसम्म निर्वाचन हुन पनि दिन्नौ । अध्यक्ष ठाकुरले सरकार गठन हुँदा भएको तीन बुँदे सहमतिमा आफुहरु प्रतिवद्ध रहेको सरकार त्यसबाट भाग्न खोजेको आरोप लगाए । मोर्चाका कुनैपनि दल चुनावमा भाग नलिने उनले दावी गरे । ठाकुरले संविधान संशोधन विना चुनावमा कुन मुखले जाने भनी प्रश्न सोधे । ‘प्रधानमन्त्री चुनावमा तपाईंहरुलाई तीन बुँदे सहमतिका आधारमा भोट हाले पनि हामी सत्ता पक्ष होइन, हामीलाई एउटा भिन्न पक्षको रुपमा बुझिदिनुभएन,’ ठाकुरले भने, ‘हामी अहिलेकै अवस्थामा चुनावमा जान सक्दै सक्दैनौं ।’
मधेसी मोर्चाले तत्काल केहीदिनको अल्टिमेटम दिएर सरकारसँग सम्बन्ध विच्छेद गर्ने तयारी गरेको छ । आज र भोलि छलफल गरेर सरकारलाई १५ दिनको सीमा दिने र माग पुरा नभए सम्बन्ध विच्छेद गरेर आमहड्तालमा जाने मोर्चाको तयारी छ । मोर्चाका नेता केशब झाले मोर्चा सरकारसँग सम्बन्ध विच्छेद गर्ने निस्कर्षमा पुगेको र अल्टिमेटम सहित निर्णय आउने जानकारी दिए ।