भारतबाट थप ५० मेगावाट बिद्युत आयात गर्ने तयारी

भारतबाट थप ५० मेगावाट बिद्युत आयात गर्ने तयारी
समाज

काठमाडौं । सुक्खायाम सुरु भएसँगै आन्तरिक बिद्युत उत्पादन घटेकाले नेपालमा बिद्युत आपूर्ति सुचारु गर्न नेपाल बिद्युत प्राधिकरणले भारतबाट थप ५० मेगावाट बिद्युत आयात गर्ने तयारी गरेको छ । यससँगै भारतबाट आयात हुने जम्मा बिद्युत ४३० मेगावाट पुग्नेछ । कटैया–कुशाहा सीमापार ट्रान्समिसन लाइनबाट उक्त बिद्युत आपूर्ति हुने जनाइएको छ ।

आन्तरिक बिद्युत चुहावट रोक्न हालसालै चालिएका कदमले केही सुधार भएको प्राधिकरणले जनाएको छ । गत बर्ष बिद्युत चुहावट करिब २० प्रतिशत रहेकोमा अहिले १७ प्रतिशतमा झरेको छ । यसको अर्थ अहिले नेपालको आन्तरिक उत्पादन करिब ५०० मेगावाट मान्ने हो भने लगभग १०० मेगावाट बिद्युत चुहावटबाट गइरहेको छ ।

बिद्युत चुहावट भन्नाले उत्पादित मध्येबाट बिजुली हराएको भन्ने धेरैले अथ्र्याउन खोजे पनि यथार्थ त्यस्तो होइन । चुहावट भएको बिजुली पनि देशभित्र कसै न कसैले उपभोग गरिरहेकै हुन्छ । मुख्य लाइनबाट मिटर जडान नगरी वा बिद्युत प्राधिकरणको अनुमति बिना चोरी मार्फत बिजुली प्रयोग हुनु चुहावट हो । यसरी प्रयोग गरिएको बिद्युत महशूल प्राधिकरणले उठाउन सक्दैन, त्यसैले यसलाई चुहावट भनिने गरिन्छ । त्यस्तै अनुमति लिएर बिद्युत लाइन जोडेका, तर लामो समयसम्म शुल्क नतिरेका ग्राहकलाई पनि चुहावटको सूचीमा राखिन्छ ।

यसरी महशुल बाँकी राख्ने र समयमा नतिर्नेमा धेरैजसो सरकारी कार्यालय र ठूला उद्योग लगायत छन् । भारतबाट आयात हुने बिद्युतका लागि प्राधिकरणले भारतीय बिद्युत ब्यापार निगमसँग छुट्टै बिद्युत खरीद सम्झौता गर्नुपर्छ । जसका लागि प्राधिकरणले प्रत्र तयार गरिसकेको छ । सोही पत्रका आधारमा सम्झौता गर्न भारतले प्राधिकरणको एक टोलीलाई बोलाउने छ र सम्झौता पश्चात बिद्युत आयात सुरु हुनेछ । यसबर्ष बर्षायाम अघि नै भारतबाट करिब ७०० मेगावाट बिद्युत आयात गर्ने योजना प्राधिकरणले बनाएको छ ।

अहिले नेपालमा भारतबाट आयातित हुने बिद्युत प्रति युनिट भारु ९ (नेरु १४) रुपैयाँ पर्न आउँछ । परल मूल्य प्रति युनिट ९ रुपैयाँ र प्रसारण लाइन प्रयोग गरेको भाडा बापत भारतलाई प्रति युनिट थप ५ रुपैयाँ समेत तिर्नुपर्ने भएकाले आयातित बिद्युत महँगो पर्न गएको हो । नेपाल बिद्युत प्राधिकरणले साना ग्राहकसँग प्रति युनिट करीब १० रुपैयाँ र ठूला ग्राहकसँग प्रयोगको अनुपातमा १८ रुपयाँ सम्म प्रति युनिट शुल्क लिन्छ ।

नेपालको अहिले जम्मा बिद्युत माग १२४० मेगावाट छ । सबै उत्पादन जलबिद्युत भएकाले बर्खायामको जेठ देखि कात्तिक महिनासम्म यस बर्षदेखि नेपालको आफ्नै उत्पादन करिब १५०० मेगावाट पुग्छ । तर सुख्खा याममा उत्पादन ६० प्रतिशत सम्म घट्न पुग्छ । चैत–बैसाख नेपालमा सबैभन्दा कम बिजुली उत्पादन हुने महिना हुन् । यसबर्ष १४४ मेगावाट क्षमताको कालीगण्डकी ए बाट करिब ३८ मेगावाट मात्र उत्पादन भैरहेको छ भने ६० मेगावाटको मध्य मस्र्याङ्दी पनि मर्मतका लागि बन्द गरिएको छ ।

Post Comment