प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी ओलीबीच सोमबार साँझ टेलिफोन संवाद भएको छ ।
सप्तरीको राजविराजमा प्रहरीको गोली लागी चार प्रदर्शनकारीको मृत्यु भएपछि ओलीले प्रचण्डलाई टेलिफोन गरेका थिए । स्रोतका अनुसार त्यस क्रममा ओलीले आफूविरुद्ध महला भएकाले घटना भएको भन्दै आक्रोश पोखे । ‘म काठमाण्डुबाहिरै निस्कनै नहुने ? मलाई देखेपछि ढुंगामुढा गर्नैपर्ने ? गाडीमा आगो लगाउनैपर्ने ? यो के भएको हो ?’
जवाफमा प्रधानमन्त्रीले एमाले नेतृत्वको हठ र मधेसविरोधी मानसिकताका कारण घटना भएको भन्दै तत्काल अभियान रोकेर काठमाण्डु फर्कन आग्रह गरेका थिए ।
‘तपाईंहरुको अभियान ठीक समयमा भएन, यो रोक्नुस र समीक्षा गर्न काठमाण्डु आउनुस’, प्रधानमन्त्रीले भनेका थिए । प्रधानमन्त्रीले मुलुकलाई थप मुठभेडको दिशामा लैजान नदिन सबै संयम हुनुपर्ने बताएका थिए ।
प्रधानमन्त्रीको आग्रह लगत्तै बसेको एमाले स्थायी समिति बैठकले तीन दिनका लागि अभियान स्थगनको निर्णय गरेको छ ।