भारतीय सीमा सुरक्षाबलले नेपाली भूमिमा छिरेर नेपालीको हत्या गरिरहेका बेला सत्तारुढ मधेसी मोर्चाले भने भारतीय सल्लाहमा नेपाल बन्द गरेको छ । सप्तरी घटनाकै दिन सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको मोर्चाले भारतीय दूतावासको निर्देशन आएपछि त्यसको भोलिपल्ट अर्काे बैठक बसेर समर्थन फिर्ताको ७ दिने अल्टिमेटम दिंदै २७ गते नेपाल बन्दको घोषणा गरेको थियो ।
२६ फागुनमै पुनर्वास नगरपालिका आनन्दवजार कञ्चनपुरमा भारतीय सीमा सुरक्षाबलले नेपाली नागरिक गोविन्द गौतमको ज्यान लिएको थियो । यस घटनाप्रति मधेसी मोर्चाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । हरेकजसो रणनैतिक बैठक भारतीय दूतावासमै गर्दै आएको मोर्चाले यसपटक भने पुराना भारतीय राजदूत विदा भइसकेको र नयाँ राजदूत नआइसकेकाले अघिल्लो दिन एउटा निर्णय गरेर भोलिपल्ट सच्याउनु परेको थियो ।
भारतीय दूतावासका डेपुटी चिफ अप विनयकुमार र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवबीचको भेटवार्ता पनि मोर्चाले समर्थन फिर्ताको निर्णय परिवर्तन गर्दै एक हप्ताको अल्टिमेटम दिएको थियो । कञ्चनपुरमा गोली हानेर हत्या गरेका नेपाली नागरिकमाथि भारतीय सीमा सुरक्षा बलले गोली नचलाएको भन्दै दूतावासले विज्ञप्ति जारी गर्यो । दूतावासले नै यस्तो विज्ञप्ति जारी गरेपछि दूतावासबाटै महत्वपूर्ण निर्णय लिने मधेसी मोर्चाले नेपाली नागरिक मारिएकोप्रति दुखमनाउ गर्ने कुरै भएन । त्यसैले अहिलेसम्म मोर्चाले कञ्चनपुर गोली काण्डपछि औपचारिक धारणा बाहि ल्याएको छैन ।
एक महिनाअघिको दुई देशबीच भएको सहमति अनुरुप नेपाली पक्षले आनन्दवजारको नालामा कल्भर्ट बनाइरहेको थियो । जुन संरचनालाई भारतीय सीमा सुरक्षाबलले भत्काइदियो । त्यहाँका नेपालीलाई सो स्थान छोड्न समेत धम्क्याएको थियो । भारतीय अत्याचारको विरोधमा बिहीवार स्थानीयले प्रदर्शन गर्न थालेपछि भारतीय सीमा सुरक्षाबलले चलाएको गोलीबाट नेपालीको ज्यान गयो ।
यस घटनाप्रति विरोध जनाउँदै सबैभन्दा पहिले एमालेले विरोध जनायो भने त्यस लगत्तै नेपाली कांग्रेसले विरोध जनायो । सत्तारुढ माओवादीले औपचारिक रुपमा घटनाप्रति आफ्नो धारणा सार्वजनिक नगरे पनि नेताहरुले भारतीय ब्यवहारको विरोध गरिरहेका छन् । तर मधेसी मोर्चाले भने अहिलेसम्म कञ्चनपुर गोलीकाण्डबारे मुख खोलेको छैन ।