संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाले अध्यक्ष केपी ओलीका कारण सप्तरीको मठेलमा निर्दोष सर्वसाधारणले प्रहरीको गोलीबाट ज्यान गुमाउनुपरेको आरोप लगाएका छन् ।
संघीय समाजवादी प्रेस फोरमले सप्तरीमा आइतबार गरेको पत्रकार सम्मेलनमा यादवले ओलीले मधेसीविरुद्ध अपमानजनक शब्द प्रयोग गरेकाले घटना भएको बताए । उनले एमाले र ओलीको मधेसप्रतिको दृष्टिकोण खोटपूर्ण रहेको टिप्पणी गरे ।
यादवले ओलीले मधेसीलाई कहिले ‘काले’, कहिले माखे, कहिले चारपाँच वटा आँप झर्दैमा केही फरक पर्दैन भनेर अपमानित गर्दै आएकाले उनीविरुद्ध जनआक्रोश उर्लिएको दाबी गरे । उनले घटना छानबिन गरी ओलीसहितका दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरे ।
उनले ओलीका कारण मधेस युद्धमा प्रवेश गरेको भन्दै अब निर्णायक आन्दोलन हुने चेतावनी दिए । फरक प्रसंगमा उनले संघीयता समाप्त पार्ने नियतका साथ सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेको भन्दै कुनै हालतमा निर्वाचन हुन नदिने प्रतिज्ञा गरे ।