चितवन, ३ चैत । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले परिमार्जनसहित संविधान संशोधन नभएसम्म मधेसी मोर्चा निर्वाचनमा सहभागी नहुने बताएका छन् ।
आज यहाँ पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष महतोले सरकार र मधेसी मोर्चाबीचमा भएको तीनबुँदे सहमति सरकारले कार्यान्वयन नगरेकाले सरकारलाई दिएको समर्थन मोर्चाले फिर्ता लिएको बताए।
आफ्ना माग पूरा नगरी सरकारले जबर्जस्ती निर्वाचनको मिति घोषणा गरेको भन्दै उहाँले माग पूरा नभए निर्वाचनमा समेत असहयोग गर्ने बताए ।
सरकारले गरेको त्रुटि सच्याउनुपर्ने भन्दै उहाँले मधेसी मोर्चा आन्दोलनतर्फ जाने बताए । उनले आन्दोलन, बन्द–हडतालको विकल्पको खोजी भइरहेको पनि बताए । नेता महतोले जनताको बीचमा रहेको आन्दोलनलाई अघि बढाउने बताने बताए । नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियानप्रति लक्षित गर्दै उहाँले तराईमा निषेधको राजनीति मधेसी मोर्चाले नगरेको बताए।
उनले भने, “जनताले कुनै पनि दललाई निषेध गर्न सक्छन् ।” एमालेले तराईका जनताका विरुद्धमा काम गरेको आरोप लगाउँदै उहाँले त्यसको प्रतिवादमा जनता आएको बताए । एमालेको जिद्दीपनका कारण समस्या आएको पनि उनले आरोप लगाए ।