कांग्रेसमा निर्वाचन अघि संशोधन पारित गर्न दवाब

कांग्रेसमा निर्वाचन अघि  संशोधन पारित गर्न दवाब
राजनीति

नेपाली काँग्रेसभित्र स्थानीय तहको निर्वाचनअघि नै व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव पारित गर्ने प्रक्रिया अघि बढाउन दबाब बढेको छ ।

सभापति शेरबहादुर देउवाले निर्वाचनअघि नै संशोधन गर्ने बताएपछि तराई–मधेसबाट प्रतिनिधित्व गर्ने कांग्रेसका सांसद तथा केन्द्रीय सदस्यहरुले त्यस्तो दबाब बढाउन सुरु गरेका हुन् ।  शुक्रबार बिहान सिंहदरबारमा बसेको ती सांसदहरुको बैठकले यही चैत १० गते बस्ने काँग्रेस केन्द्रीय समितिको बैठकबाट संशोधनको प्रक्रिया अघि बढाउने निर्णय गर्नुपर्ने निष्कर्ष निकालेका छन् ।

बैठकमा बोल्ने अधिकांश वक्ताहरुले काँग्रेस मुलुकको जिम्मेवार पार्टी भएको भन्दै मुलुकको जटिल समस्या समाधानमा काँग्रेसले नै अग्रसरता लिनुपर्नेमा जोड दिएको बैठकमा सहभागी सांसद रामकृष्ण यादवले जानकारी दिए।

“बैठकले तराई मधेसको समस्या समाधानमा पार्टीले अग्रसरता लिनुपर्छ भन्ने निष्कर्ष निकालेको छ”,  यादवले भने – “अधिकांशले मुलुक र जनताको हितमा संशोधन प्रस्तावलाई पारित गर्न प्रक्रियामा लगी पारित गराउन केन्द्रीय समितिले निर्णय गर्नुपर्ने धारणा राख्नुभयो ।”

संविधानलाई सर्वस्वीकार्य बनाई स्थानीय निर्वाचनमा सबैको सहभागिता सुनिश्चित गर्न पनि संशोधन पारित गर्न लाग्नुपर्नेमा बैठकका सहभागीको जोड थियो । बैठकमा नेताहरु डा. शेखर कोइराला, डा. मीनेन्द्र रिजाल, फरमुल्ला मन्सुर, तारिणीदत्त चटौत, अमरेशकुमार सिंह, सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकी, भरत साहलगायत केन्द्रीय सदस्य र सांसदको उपस्थिति थियो ।

Post Comment