संघीय समाजवादी फोरम नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र श्रेष्ठले संविधानको धारा २७४ खारेज गरिए संघीय गठबन्धन स्थानीय तहको निर्वाचनमा जाने बताएका छन्।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै कार्यवाहक अध्यक्ष श्रेष्ठले भने,‘‘सिमांकनको बारेमा संविधानको धारा २७४ ले लगाएको बन्देज हटाउनुपर्छ, त्यो भए सिमांकनका विषयमा पनि सहमति जुट्छ, र हामी स्थानीय तहको निर्वाचनमा जानको लागि वातावरण पनि बन्छ।’’
उनले सरकारले स्थानीय तहको निर्वाचन गर्ने गरि मिति घोषणा गरेको विषयमा टिप्पणी गर्दै भने,‘यो सरकारको उल्टो बाटो हो, पहिले केन्द्रिय संसदको चुनाव गर्नुपर्छ, त्यसपछि प्रदेश र स्थानीय तहको निर्वाचन गर्नुपर्छ, यो नै सुल्टो बाटो हो।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा नेता श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेलाई स्थानीय तहको नै निर्वाचनमा भाग लिन आफूहरुलाई आग्रह गरेको बताउँदै भने,‘प्रधानमन्त्रीलेपनि हामीलाई अहिलेलाई स्थानीय तहकै निर्वाचनमा भाग लिन आग्रह गर्नुभएको छ,पछि केन्द्रीय संसदको चुनाव गरेपछि प्रदेशको र त्यसपछिमात्रै स्थानीय तहको निर्वाचन गर्ने आश्वासन दिनुभएको छ, तर हामीले यसबारेमा ठोस निर्णय गरिसकेका छैनौं।’ यद्धपी उनले मुलुक अहिले संवेदनशील अवस्थामा रहेकोले सबै पक्ष लचिलो भएर प्रस्तुत हुनुपर्नेमा जोड दिए।
नेता श्रेष्ठले पहिले प्रधानमन्त्री दाहालले निर्वाचन र संविधान संशोधन सँगसँगै लैजाने प्रतिबद्धता व्यक्त गरेको भएपनि अहिले आएर पहिले निर्वाचन गरौं भनेको उल्लेख गर्दै भने,‘उहाँ एकैचोटि १८० डिग्रीको रफ्तारमा यू–र्टन हुनुभयो।’ सरकारले मोर्चासँग भएको सहमति विपरित स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेकोमा आफूहरुले पटक पटक विरोध गरेको स्पष्ट पारे। आफूहरुसँग भएको सहमति विपरित निर्वाचनको मिति घोषणा गरेकोले
उनले सरकारले स्थानीय तहको निर्वाचन पहिला गर्नेगरि सरकार अघि बढिरहेकोप्रति टिप्पणी गर्दै भने,‘यो सरकारले पहिले स्थानीय तहको निर्वाचन गर्ने भनेर मिति घोषणा गर्यो, यो संविधान विपरित छ, सरकार टाउकोले टेकेर हिँड्न खोज्दैछ, तर हामी खुट्टाले टेकेर हिँड्नुपर्छ भन्दैछौं, सुल्टो बाटो भनेको नै पहिलो केन्द्रिय संसदको चुनाव हुनुपर्छ, स्थानीय तह भनेको प्रदेशको मातहतमा रहने कुरा हो, तर अहिले प्रदेश सभा नै गठन भएको छैन्।’
श्रेष्ठले संघीय गठबन्धन चुनावको विरोधी नभएको जिकिर गर्दै भने,‘हामी चुनावको विरोधी होईनौं, तर पहिला हामीले उठाएका माँगहरु संविधान संशोधनमार्फत पूरा गर्नुपर्छ, अहिले सरकारले संसदमा पेश गरेको चार बुँदे संशोधन प्रस्तावलाई परिमार्जनसहित पारित गराउनुपर्छ, यसो भयो भने हामी चुनावमा जान्छौं।’ उनले आफूहरु हाँगा नभाँचिनेगरि नुहुन तयार रहेको समेत स्पष्ट पारे। उनले पटक पटक संविधानको धारा २७४ को अघोषित प्रतिबन्ध हटाउनुपर्नेमा जोड दिए।
उनले चुनावमा गठबन्धनले भाग लिएपनि यसपटक भने सरकारसँग उधारो सहमति गर्ने पक्षमा आफूहरु नरहेको दाबी गरे। उनले भने,‘हामीले हाम्रा माँगहरु पूरा गराउनको लागि विभिन्न चरणमा सरकारसँग उधारो सम्झौता गरिसकेका छौं, तर अहिलेसम्म ती माँगहरु पूरा भएका छैनन्, अब उधारो सहमति कुनै पनि हालतमा हुँदैन्।’
उनले चार बुँदे संशोधन प्रस्तावमा उल्लेख भएका भाषा, नागरिकता र राष्ट्रिय सभामा प्रतिनिधित्वको विषयमा अहिले नै टुँगोमा पुग्नेगरि सहमतिको प्रयास भैरहेको जानकारी दिँदै भने,‘तर सिमांकनको विषयमा सरकारको तर्फबाट विशेष कार्यदल बनाएर छलफल गरेपछि विज्ञसहितको संघीय आयोग बनाउनेबारे कुराकानी भैरहेको छ, हामीले सरकारको तर्फबाट ठोस प्रस्ताव आओस् भनेका छौं।’ उनले भाषाको सवालमा बहुभाषिक प्रावधान संविधानले अख्तियार गर्नुपर्नेमा जोड दिए।