हाम्रो गन्तव्य – चन्द्रसिंह भट्टराई

हाम्रो गन्तव्य – चन्द्रसिंह भट्टराई
विचार

आदर्श विहीन गन्तव्य सार्थक हुन सक्दैन । मानिस प्रायः पद, पैसा र प्रतिष्ठाको भोको हुन्छ । यो भोकको आपूर्ति कृषि, सेवा, व्यापार उद्योग, कला, साहित्य, राजनीति आधुनिक प्रविधि, विदेश भ्रमण आदिको गन्तव्य बाट गर्ने गर्छ । केहीले सीमित आय भएर पनिसार्वजनिक जीवनको गन्तव्य अंगालेका छन्भने केही देश विदेशमा पर्याप्त साधन श्रोत जुटाएर पनि एकाकी जीवनमा सीमित रहन सोच भएका छन्। जीवनको यात्रामा यी विविध रंग देख्न पाइन्छन्। यो विविधता फरक फरक गन्तब्य भएर भएको परिणाम हो ।

मानिस मूल रुपले समान जन्मिन्छन्। तर देश काल परिस्थितिले उसमा विविधता देखिएको छ । शिक्षा, परिबेश र उसका केही जन्म जात संस्कार प्रदत्त चिन्तनले उसमा अझ फराकिलो परिवर्तन हुन्छ । यही चिन्तनले उसको गन्तव्य निर्धारणमा विविधता सृजना गर्छ र चिन्तनको विकास क्रमले उसको मार्गचित्र रेखांकित हुने गर्छ । आज समाजमा देखिने सकारात्मक वा नकारात्मक प्रकृतिको विकास यसैको उत्कर्ष हो ।

समाजको विकास क्रममा आज मानव सभ्यता धेरै अगाडि बढेको देखिन्छ । तर यो विकासको क्रम विश्वभर समान हुन संभव छैन । किनभने विकासका लागि आवश्यक वातावरण, समान प्रतिबद्ध सक्रियता देखिदैन । नेपाल र अमेरिकाको भौतिक विकासको सन्दर्भमा पनि अतुलनीय बैषम्य र विविधता छ । आज नेपाली मात्र होइन, धेरै अल्पविकसित र विकासोन्मुख तथा विकाशील देशका कतिपय मानिसहरुको सपना अमेरिका छ । यद्यपि सम्मुन्नत अमेरिकाको आफ्नै लामो संघर्षमय कथाहरु छन् । यही संघर्षमा यहाँका आदिबासी रेडइन्डियन अब अल्प संख्यकमा रुपान्तरित भैसकेका छन् । मानिसको मानसिक स्तर अनुसार उसको चिन्तन शक्तिले विकासलाई मूर्तता प्रदान गरेको हुन्छ । त्यसैले संसारका धेरै आदिबासीहरु पछि परे । परिणामतः त्यो चिन्तनले कुनै जातिको गौरवगाथा इतिहासमा पनि छ र आज पनि स्थापित भएको छ । यसको राम्रो उदाहरण अमेरिकाको नेतृत्व र सर्जकहरुको इतिहासले प्रस्तुत गरेको छ ।

संसारमा आज हिजो भन्दा बढी समृद्धि छ । तर तुलनात्मक रुपमा आक्रोश, असंन्तोष पनि बढी छ । सम्पन्नताले मानिसलाई उदार हुनु भन्दा इष्र्यालु बनाएको छ । भौतिक सम्पन्नता संगै रुचि र दृष्टिकोण पनि परिष्कृत हुनु पर्ने थियो । त्यैपनि आवरण छ तर बास्तविकता थोरै छ । यो व्यवसायिकताको परिणाम हो । अहिले कृषिलाई उत्तम मानिदैन । त्यसैले प्रचलित छ — व्यापार अपार । यसैले गर्दा मानिसको वाह्य आवरण सुन्दर बनाउन धेरै ठूला उद्योग व्यवसाय फस्टाएका छन् । तर मनलाई सुन्दर बनाउने व्यवसाय आकर्षण विहीन छ । किनभने यसमा लाभ छैन । केहीले धर्मका नाममा यसलाई शुरु गरे । तर रहस्योट्घाटन पछि काराबास भोग्दै छन्।

हाम्रो मानसिक स्तर अनुसार हाम्रो गन्तव्य फरक भए पनि त्यसकोसफलताको कामना सबैले गरेका हुन्छन्। यद्यपि सबैले जीवनमा न्यूनाधिक अवसर पाउँछौं । तर त्यो प्राप्त अवसरलाई उपयोग गरेर उत्कर्षमा पुग्ने धेरै हुँदैनन्। व्यक्तिगत प्राप्ति भन्दा सामाजिक प्राप्तिको महत्व सबैका लागि हुन्छ । तर हाम्रो गन्तव्यको स्वरुप सामाजिक भएर पनि यसका जटिलता बुभ्mन सकिएन भने सम्बिन्धित व्यक्तिसंगै समाजले पनि न्यूनाधिक समस्याहरु भोग्न परेको छ ।

पद, पैसा र प्रतिष्ठाका सन्दर्भमा राज्यमा उच्च स्थान प्राप्त गरेको मानिस प्राय आफ्नोलाई स्वभाविक रुपले अरु भन्दा विषेश योग्यता भएको ठान्दछन्। त्यसैले कसैले प्रस्तुत गरेका उपयोगी सुझाव उनलाई चित्त बुझे पनि सहजै स्वीकार गर्न सक्दैनन्। यसले पनि राज्य र समाजमा समय–समयमा द्वन्द्वको स्थिति सृजना गरेको छ । आधुनिक राजनीतिमा राज्यको सार्वभौम सत्ता जनतामा निहित रहेको सिद्धान्त अनुसार जनताका प्रतितिधिहरु प्रकारान्तरले सत्ताधारी हुन् । तर अधिकाँशको कार्यशैलीमा एकाधिकारबादी प्रभाव देखिनुले समय–समयमा आन्तरिक द्वन्द देखिन्छ । बर्तमान नेतृत्वकोद्वन्द व्यवस्थापनमा देखिनु पर्ने कुशलताको अभाव पनि हाम्रो आजको समस्या हो ।

मानिसले आफ्नो गन्तव्य निर्धारण गर्न सक्नु महत्वपूर्ण पक्ष हो । यसका साथै गन्तव्य अनुसारको योग्यता पनि चुनौतीपूर्ण पक्ष हो । त्यसैले मानिसमा आफ्नो क्षमताको मूल्याँकन गर्न सक्ने योग्यता हुनु पर्छ । प्रायः हामी आफ्नो मूल्याँकन धेरै गर्ने गर्दछौं । त्यसैले आसन्न असफलताको कारण निराश हुनुपर्छ । प्रतिकृया स्वरुप धेरैले सकृताबाट पलायन भएर नकारात्मक चरित्र देखाएका छन्। तर आफ्नो क्षमता अनुरुपको दिशा परिवर्तन गरेर अनुकरणीय प्रस्तुति गर्नेहरु पनि छन् । जीवनको गोरेटोमा प्रसंगवश मन मिल्ने विविध चरित्र भएका सहयात्री साथीहरु थपिदै जान्छन् । जीवनको उत्तरार्धसम्म यी मध्ये कोहीसंगै रहन्छन् भने धेरै जसो क्रमशः पातलिदै जान्छन्। हाम्रो गन्तव्य केही निश्चित आधारमा निर्माण गरिएको एउटा परिकल्पना हो । समयको आरोह अवरोहमा स्थापित मूल्य मान्यतामा विचलनका कारण हाम्रा सम्बन्धमा शिथिलिकरण स्वभाविक हो ।

समयको अन्तरालले मानिसको ऊर्जा जीवन पर्यान्त समान रहन सम्भव छैन । तर पनि मानिसले विपरित परिस्थितिमा पनि केही कालका लागि उत्साह प्रदर्शन गर्दछ । तर लामो कालसम्म त्यसलाई निरन्तरता दिन सम्भव नभएकाले आफ्नो आदर्श अनुरुप तन्नेरीहरुको नेतृत्व विकास गर्ने नेल्सन मण्डेला जस्तै सहयोगी हुनु युगानुरुप सिद्ध भएको छ । व्यक्तिगत सन्दर्भमा दीर्घ जीवन पाएर पनि साँस रहुन्जेल आत्मनिर्मर र कृयाशिल रहन सकिन्छ भन्ने अनुपम उदाहरण १३७ वर्षको उमेरमा देह त्याग गरेका शिवपुरी बाबा अर्थात स्वामी गोविन्दानन्द भारती (१८२६ ई. भारत, केरल – १९६३ ई. काठमाडौं धु्रवस्थली) को छ । राजनीतिक क्षेत्रमा गिरिजा प्रसाद कोइराला र सामाजिक क्षेत्रमा संस्कृतविद्सत्यमोहन जोशीलाई स्मरण गर्न सकिन्छ ।

हाम्रो गन्तव्यको सफलतामा पारिवारिक सहयोग सर्बोपरी हो । पारिबारिक सहयोगको अभाव र अनुचित लाभ लिने प्रबृत्तिले समाजका ठूला हस्तीहरुले समेत बाँन्छित सफलतामा वाधा वा अपमान बोध भोग्नुपरेको छ । त्यस बाहेक नजिकका इष्टमित्र र सहयोगीहरुबाट भएको शोषण पनि कारक छ । सार्वजनिक गन्तव्य भनेको एउटा टीम वर्क पनि हो । उदाहरणका लागि कूनै पनि खेल टिम स्पिरिटको अभावमा आकर्षक हुन सक्दैन । कुनै राम्रो टीम सधै भरि प्रतियोगितामा सफल हुन पनि सम्भव छैन । तर प्रतियोगितामा दर्शकहरुका सामुने टीमको प्रदर्शन प्रशंसनीय हुनु पनि सफलता हो । यस्तो टीम भविष्यमा सम्वन्धित व्यक्तिहरुका लागि आशा र उत्साहको पर्याय हुने गरेको छ । यो नै टीमका लागि गौरबको कुरा हो ।

हाम्रो समाजमा विविध रुचिका पात्र छन्ं । यो विविधताले गन्तव्यमा पनि विविधता छ । देशको गौरव राख्न आफ्नो आहुति दिने पात्र पनि हामीले देखे सुनेका छौं । आफ्नै लागि बाच्ने वा समाजमा एउटा सम्मानित पात्रको रुपमा आफुलाई स्थापित गर्ने यो आफ्नो रोजाइको कुरा हो । तर जीवनलाई स्वस्थ, आत्मनिर्भर र आधुनिक ज्ञान–विज्ञानको चेतना सहित सम्भावित आसन्न चुनौतिहरुलाई सामना गर्न सक्ने गन्तव्य समय सान्दर्भिक हुनेछ ।

भट्टराई ने.का.पूर्व केन्द्रिय सदस्य एवं पूर्व उर्जा राज्य मन्त्री हुन।

हाल:
प्रवीण निवास, डेनभर
कोलोराडो, यू.एस.

Post Comment