बाबुरामलाई पक्राउ गरेको भन्दै प्रचण्डले प्रहरीलाई थर्काए

बाबुरामलाई पक्राउ गरेको भन्दै प्रचण्डले प्रहरीलाई थर्काए
राजनीति

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई तुरुन्त छाड्न निर्देशन दिएका छन्। नेता भट्टराई आइतबार बिहान दलीय चुनाव चिन्ह नदिने व्यवस्थाको विरोध गर्दै निर्वाचन आयोग अगाडि धर्ना दिँदा पक्राउ परेका थिए।

नयाँ शक्तिसहितका ६४ दलको आयोजनामा भएको धर्ना कार्यक्रममा प्रहरीले भट्टराईसहित नेकपा क्रान्तिकारी माओवादीका सिपी गजुरेल, हिसिला यमि, परशुराम तामाङ आदिलाई पक्राउ गरेको थियो। पक्राउपछि उनीहरुलाई नेपाल पुलिस क्लब भृकुटी मण्डपमा राखिएको छ।

पूर्वप्रधानमन्त्री समेत रहेका बाबुराम भट्टराई पक्राउ परेसँगै सरकारको आलोचना भएको थियो। प्रधानमन्त्री दाहालले पक्राउ परेका भट्टराई लगायतका नेताहरुलाई तुरुन्त छाड्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले काठमाण्डु टुडेलाई बताए । आचार्यले भने, ’प्रधानमन्त्रीले भट्टराईलाई छाड्न निर्देशन दिइसक्नुभएको छ।’

प्रधानमन्त्री प्रचण्डले सुरक्षाकर्मीसँग आक्रोशित हुदैँ किन र कसरी पक्राउ पर्नु भयो  भन्दै आक्रोश पोखेका थिए । उत्तरमा निषेधित क्षेत्र तोडेकाले भट्टराईलाई पक्राउ गरिएको बताएका थिए ।

प्रधामन्त्रीले छाड्न निर्देशन दिए पनि पक्राउ परेका भट्टराई लगायतका नेताहरु भने पुलिस क्लबमै धर्ना बस्ने सोचमा रहेका छन्। यसको जानकारी दिँदै भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘पुलिस क्लव भृकुटी मण्डपमा आन्दोलनकारी साथीहरूसंग! साथमा मा. गंगा चौधरी, सि पी गजुरेल, रिजवान अन्सारी, हिसिला यमी, रामकुमार शर्मा लगायत ११ दलका ४८ जना उच्च मनोवलकासाथ माग पूरा नभएसम्म यहीं धर्ना कस्ने मुडमा!’

यसैबीच बाबुराम भट्टराई लगायतका आफ्ना पार्टीका नेताहरु पनि पक्राउ परेपछि पक्राउ परेका नेतालाई भेटन नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य नेपाल्र पुलिस क्लब भृकुटीमण्डपमा पुगेका छन्।

 

Post Comment