नयाँ शक्ति पार्टी ३ नं प्रदेश संयोजक गङ्गानारायण श्रेष्ठले दलको हैसियतमा निर्वाचन चिह्न नदिइए निर्वाचन हुन नदिने बताएका छन्।
नयाँ शक्ति सिन्धुलीको बैठकको निर्णय सार्वजनिकीकरणका लागि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले निर्वाचन आयोगमा दर्ता भएका सबै दललाई दलको हैसियतका आधारमा दलिय निर्वाचन चिह्न दिनुपर्ने बताए।
उनले भने “निर्वाचन आयोगले दल दर्ता गर्न आग्रह गर्ने अनि दर्ता भएका दललाई स्वतन्त्र रुपमा चुनाव चिह्न दिन्छु भन्नुको अर्थ निर्दलीय व्यवस्थातर्फ देशलाई लग्न खोजिएको छ । यसमा नयाँ शक्तिले पूर्ण रुपमा विरोध गरेर निर्वाचन हुनै दिँदैन ।”
सरकारले अझै निर्वाचनको वातावरण बनाउन नसकेको पनि उनको आरोप थियो ।
निर्वाचनका लागि सिन्धुलीका विभिन्न स्थानीय तहमा प्रमुख पदका उम्मेदवारसमेत सार्वजनिक गरिएको छ ।
कमलामाई नगरपालिका प्रमुखमा दीर्घराज श्रेष्ठ, घ्याङ्लेक गाउँपालिकाकामासुरजबहादुर स्याङ्तान र तीनपाटन गाउँपालिकाका अध्यक्षमा सरोज पुलामी मगरलाई उम्मेदवार बनाइने तयारी भइरहेको र अन्य स्थानमा पनि चाँडै टुङ्गो लगाइने जिल्ला संयोजक दीर्घराज श्रेष्ठले बताए।
बैठकले निर्वाचन तयारीका लागि विभिन्न समितिसमेत गठन गरेको छ । दीर्घराजको संयोजकत्वमा दुई सय ५१ सदस्यीय जिल्ला निर्वाचन परिचालन समिति, एवं उम्मेदवार छनोट तथा वार्ता समिति गठन गरिएको छ ।
त्यस्तै सुरजबहादुर स्याङ्तानको संयोजकत्वमा निर्वाचन घोषणापत्र तथा प्रतिबद्धतापत्र मस्यौदा समिति तथा वन्दना सुवेदीको संयोजकत्वमा आर्थिक व्यवस्थापन समितिसमेत गठन गरिएको छ ।