नयाँ शक्ति संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले मधेसको सहभागिता बिना हुने निर्वाचनले मुलुकलाई निकास नदिने बताएका छन् ।
सप्तरीको कल्याणपुरमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा भट्टराईले मधेसी मोर्चाको माग सम्बोधन बिना निर्वाचन असम्भव रहेको बताए ।
‘मधेसी, जनजाति, थारु र पछाडि पारिएका समुदायका जायज माग सम्बोधन नगरिए निर्वाचनको औचित्य छैन’, भट्टराईले भने, ‘सरकारले निर्वाचन चाहेको छ भने ५२ प्रतिशत तराई-मधेसको माग सम्बोधन गर्नुपर्छ ।’
भट्टराईले मधेसी मोर्चाको आन्दोलनका कार्यक्रमलाई समर्थन जनाए । उनले आन्दोलन रहर नभई बाध्यता रहेको बताए । मधेससँग लभ परेको बताउने प्रचण्डले बिहे चाहिं एमाले अध्यक्ष केपी ओलीसँग भएको भन्दै ब्यंग्य गरे ।
‘मधेससँग लभ परेको बताउने प्रचण्डजीले केपी ओलीसँग बिहे गरेपछि आन्दोलन बाध्यता भयो’, भट्टराईले भने । आफ्नो पार्टीलाई चुनाव चिन्ह नदिएकामा आपत्ति जनाउँदै भट्टराईले निर्वाचनमा भाग लिन नदिनु अलोकतान्त्रिक भएको टिप्पणी गरे ।