बालुवाटारको बैठकमा सत्तारुढ दलकै नेताले भने :- सशोंधन पास गर्न सांसद किनबेच हुदैछ

बालुवाटारको बैठकमा सत्तारुढ दलकै नेताले भने :- सशोंधन पास गर्न  सांसद किनबेच हुदैछ
जनसरोकार

सत्तारुढ दल नेकपा संयुक्तका नेता गणेश साहले संविधान संशोधन विधेयक पारित गराउन पैसाको ठूलो चलखेल भएको दाबी गरेका छन् ।

प्रधानमन्त्रीको आह्वानमा बालुवाटारमा आयोजित सर्वदलीय बैठकमा नेता साहले संविधान संशोधन विधेयक पारित गराउनका लागि पैसाको चलखेल भएको आरोप लगाएपछि विपक्षी दलका नेता आश्चर्यमा परेका थिए । ‘उहाँ (साह)ले नै विधेयक पास गर्न ठूलो चलखेल भयो भनेर आरोप लगाउनुभयो,’ बैठकमा सहभागी विपक्षी नेता विशेन्द्र पासवानले भने– ‘हाम्रो आशंका सहि साबित भयो ।’

नेता पासवाले सत्तारुढ दलकै नेताले सरकारमाथि चलखेलको आरोप लगाएपछि आफूहरुले प्रधानमन्त्रीलाई सचेत गराएको जानकारी दिए । ‘हामीले प्रधानमन्त्रीलाई संशोधन विधेयक फेल हुन्छ, प्रचण्डजी विधेयक फेल भए तपाईले राजीनामा गर्नुपर्छ त्यसो नगर्नुस् भनेर सुझाव दियौं,’ उनले भने ।

बैठकमा सहभागी मधेसी नेता अनिल झाले निर्वाचनबारे छलफल भएको जानकारी दिए । ‘प्रधानमन्त्रीले दुई चरणमा निर्वाचन गर्ने भन्दै पहिलो चरणको निर्वाचनको मतपेटीकालाई कसरी सुरक्षित राख्ने ? वा तत्काल गणना गर्ने ? भन्नेबारे प्रस्ताव राख्नुभयो,’ झाले भने– ‘सबै नेताहरुको सुझाव मतगणना एकैपटक गर्नपर्छ भन्ने थियो ।’

बैठकमा संविधान संशोधन विधेयकबारे पनि छलफल भएको छ । र, संविधान संशोधन गरेर जेठ १५ मा ल्याउनुपर्ने बजेटलाई चुनावका लागि असारमा ल्याउन सुझाव दिइएको नेता झाले बताए ।

यस्तै, बैठकमा एमालेलाई सहमति गराएर संशोधन पारित गर्नुपर्नै र संशोधनपछि चुनावी वातावरण बन्ने धारणा नेताहरुले राखेका छन् । खासगरी मधेसी नेताहरुले आफूहरु चुनावका लागि तयार रहेको र सबैको सहमतिमा संविधान संशोधन गरेर वातावरण बनाउन सुझाव दिएका थिए ।

Post Comment