सरकारी सवारीसाधन भाडामा लगाउने गरेको खुलासा भएको छ ।
व्यवस्थापिका संसद्को सुशासन तथा अनुगमन समितिको आइतबार बसेको बैठकमा सांसदहरुले सरकारी कार्यालय आफैंले सरकारी सवारीसाधन भाडामा लगाउने गरेको पाइएको बताएका हुन् ।
बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष एमालेका सांसद कमलादेवी महतोले सरकारी सवारीसाधन भाडामा समेत दिने गरेको पाइएको उल्लेख गर्दै आपत्ति जनाएकी थिइन् । उनले सवारीसाधनको मर्मतका नाममा लाखौं रुपैयाँ सरकारी कर्मचारीले नै असुल्ने गरेको पनि बताइन् । सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले पहुँचको आधारमा सरकारी सवारी साधनको दुरुपयोग हुने गरेको बताए ।
उनले सरकारी सवारीसाधनको दुरुपयोग रोक्न सरकारलाई कडा निर्देशन दिनुपर्ने बेला आएको पनि स्पष्ट पारे । सांसदहरुले सरकारी सवारीसाधनको दुरुपयोग अति धेरै हुने गरेको उल्लेख गर्दै त्यसलाई नियन्त्रणमा लिन कडा कदम चाल्न सरकारसँग माग समेत गरेका छन् । उनीहरुले सरकारी सवारीसाधनको उचित व्यवस्थापन गर्न संसद आफैंले अनुगमनको कामलाई तीव्र बनाउनुपर्ने धारणा समेत व्यक्त गरेका छन् ।
समितिले सरकारी सवारीसाधनको यकिन विवरणसमेत सरकारसँग नरहेको व्यहोरासहितको अध्ययन प्रतिवेदन नै तयार पारेको छ । सरकारी सवारीसाधनको दुरुपयोग बढ्दै गएपछि संसदीय समितिले त्यस सम्बन्धमा अध्ययन गर्न उपसमिति नै बनाएको थियो ।
सरकारी सवारी साधन भाडामा दिने गरेको खुलासा , संसदमा खैलाबैला
