संघीय गठबन्धनका संयोजक तथा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले एमालेका नेताहरूले तराईमा खुट्टा राख्न नसक्ने चेतावनी दिएका छन् ।
अध्यक्ष ठाकुरले भने, ‘एमाले र एमालेका नेताहरूले तराईमा खुट्ट राख्न पनि सक्दैनन् । उनीहरूलाई मधेसी जनताले देखाइ दिने छन् । पहिला तराईमा किन जान सकेनन् एमाले ? अब कसरी आउँदा रहेछन् ? हेरौँला !’
मधसी जनताको अधिकारका लागि एमाले बाधक बनेको आरोप लगाएका अध्यक्ष ठाकुरले भने, ‘संविधान संशोधन नगरेर निर्वाचन यस्तै अवस्थामा हुन सक्दैन । चुनाव जनताले हुन दिने छैनन् ।’
कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीप्रति आक्रमक देखिएका ठाकुरले भने, ‘केपी ओली र शेरबहादुर देउवा बाहिरबाट आएर स्थानीयलाई बाहिरिया भन्ने ?’ उनले झापादेखि कञ्चनपुरसम्मका जनतालाई अधिकार नदिने पक्षमा देउवा र ओली लागेको बताए ।
एमालेका वरिष्ठ नेता झनाथ खनालले मधेस नेपालमा छैन भन्छन् भनेर दिएको अभिव्यक्तिप्रति ठाकुरले आक्रोश व्यक्त गरे । उनले भने, ‘नेपालमा मधेस छैन भन्ने झलनाथ खनालाई शासन गर्ने अधिकार कहाँबाट आयो ? यसको जवाफ चाहियो ।’
हिन्दी भाषालाई सम्पर्क भाषा बनाउनुपर्ने अध्यक्ष ठाकुरको माग थियो । उनले भने, ‘भारतमा नेपाली भाषालाई मान्यता दिन हुने नेपालमा हिन्दी भाषालाई मान्यता दिन किन नहुने ?’
तपाईको मातृ भाषा हिन्दी हो ? भनेर सोधिएको प्रश्नको जवाफमा अध्यक्ष ठाकुरले भने, ‘मेरो मातृ भाषा मैथिली हो । मैथिली भए पनि हिन्दी भाषालाई मान्यता दिनुपर्छ ।’