मतगणना रोकिएको तीन दिन बितिसक्दा मतगणना अनिश्चित

मतगणना रोकिएको तीन दिन बितिसक्दा मतगणना अनिश्चित
समाज

भक्तपुरको चाँगुनारायण नगरपालिकामा विवादका कारण मतगणना रोकिएको तीन दिन बितिसक्दा पनि सहमति नभएपछि मतगणना गर्ने कार्य अनिश्चित भएको छ ।

गत शुक्रबारदेखि मतगणनामा विवाद भएपछि रोकिएको मतगणना आजसम्म पनि सुरु हुन नसकेको हो ।

सहमतिका लागि दलहरुबीच पटकपटक छलफल गरे पनि सहमति हुन नसकेको र भोलि (मङ्गलबार) बिहान ८ बजे पुनःसर्वपक्षीय बैठक आह्वान गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जानकारी दिनुभयो ।

दलबीच छलफलमा सहमति हुन नसकेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत निर्वाचन आयोगलाई पत्राचार गरेको र आयोगले आज साँझ मतपरिणाम घोषणा हुन बाँकी रहेको वडाका हकमा पुनःमतगणना गर्नसक्ने तर दलको सहमति लिएर निर्णय गर्नु भन्ने जवाफ पठाए पछि भोलि सर्वपक्षीय बैठक आह्वान गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

नेपाली काँग्रेसले चाँगुनारायण नगरपालिकाको ३ र ४ नं वडाको मात्र पुनः मतगणना गर्नुपर्ने माग राखेको तर एमालेले आफ्नो पार्टीलाई मात्रै लक्षित गरेकाले काँग्रेस विजयी भइसकेको वडा नं १ देखि ४ सम्म नै मतगणना गर्नुपर्ने माग राखेपछि समस्याको समाधान हुन सकेको छैन् ।

नेपाली काँग्रेस, नेमकिपा, राप्रपा, नयाँ शक्ति, माओवादी केन्द्र पार्टीले मतगणनामा रहेका कर्मचारी एमाले समर्थित रहेकाले मतगणनामा एमालेको मत बढी आएको भन्दै मतगणना रोकेका बताइएको छ ।

Post Comment